गीता नेपाली हत्या काण्डका अभियुक्तहरुले अपराध कबुलेको प्रउ खापुङको खुलासा !
घनश्याम गौतम, गल्कोट, २०७४ साउन ६ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बागलुङ जिल्लामा सगठित हिसाबले अर्थात योजनावद्ध रुपमा गरिने अपराध एकदमै न्यून रहेको बताएका छन् । प्रहरी उपरीक्षक खापुङले गल्कोट एफएम रेडियो संग विहीवार प्रत्यक्ष कुराकानी गर्दै यस्तो बताएका हुन् ।
बागलुङमा सामान्यत आत्महत्याका घटना बढी हुने गरेको चर्चा गर्दै प्रहरी उपरीक्षक खापुङले भने जिल्लामा बहुविवाह, लागुऔषध दुव्र्यसन तथा ओसार पसार, मदिरा सेवनबाट हुने कुटपीट र त्यसबाट हत्याका घटनाहरु हुने गरेको पाईएपनि जिल्लालाई ठुला अपराधहरुबाट जकडिएको जिल्ला भन्न मिल्दैन, समग्रमा बागलुङलाई शान्तिपूर्ण जिल्लाको रुपमा लिन सकिन्छ ।
केहि वर्ष पहिले बागलुङ सदरमुकाम नजिकै घटेको बहुचर्चित रुपा गौतम हत्याकाण्ड, केहि दिन पहिले बडीगाड गाउपालिका खर्वाङ नजिकै बडीगाड खोलामा मृत भेटिएकी गीता नेपालीको विषयमा भएका कार्बाहीका बारे सोधिएको प्रश्नमा प्रहरी उपरीक्षक खापुङले बडीगाड खोलामा भेटिएको महिलाको हत्याका अभियुक्तहरु प्रहरी अनुसन्धानमा रहेको र उनिहरुले अपराध कबुली सकेको जानकारी दिँदै जहाँसम्म रुपा गौतम हत्याकाण्डको कुरा छ, यो केहि पुरानो घटना हो यसका बारेमा मलाईपनि जानकारी छ, पुराना केसहरुको अनुसन्धानमा निरन्तर लागिरहनु पर्छ भन्ने हाम्रो मान्यता छ, र यसको अनुसन्धानमा निरन्तर लागिरहेको बताए । बैदेशिक रोजगारीका कारण केहि घटनाहरु हुने गरेको प्रउ खापुङको भनाई थियो ।
स्मरणीयछ, गीता नेपाली हत्याकाण्डमा पक्राउ गरिएका अभियुक्तहरुमा सक्नेरका २० वर्षिय हिरा मगर र मृतककी भाउजू गुल्मी पौँदी अमराईकी सीता नेपाली रहेका छन् ।
एक अको प्रशंगमा केहि दिन पहिले मालढुंगामा प्रहरीले चेकजाँच गर्दा एक युवक (सुनिल पुन) कालीमा हाम फालेर मृत्यु भएको विषय बास्तवमा चुनौतीको विषय होईन, तर त्यस्लाई चुनौतिको विषय बनाईयो, प्रहरी उपरीक्षक खापुङले भने, प्रहरीले चेक जाँचको क्रममा ट्याक्सी चालकलाई बाहेक अरु दुईजना भाईहरुलाई बाहिर निकालेर राखेको थियो । ट्याक्सी खानतलासी गर्दा केहि लागुपदार्थहरु भेटियो, त्यसको जानकारी पाउदा साथ ती भाईहरुमध्य एक जना कालीगण्डकी नदी तर्फ भागे, हामीले समात्ने प्रयास गयौँ तर उ आफै नदीमा हाम फालेको हो ।
प्रहरीसंग कुनै समयमा केहि कारणवस चित्त नबुझेका मान्छेहरुले यतिखेर प्रहरीलाई अलिकती तल झार्न सकिन्छ कि भनेर केहि चर्का कुराहरु भएका हुन् । उनलाई प्रहरीले कुनै यातना दिएको होईन ।
प्रहरी उपरीक्षक खापुङ्ले गल्कोट एफएमसंग जिल्लाको शान्ति सुरक्षा, विभिन्न अपराध नियन्त्रण, लागु औषध दुव्र्यसन नियन्त्रण, घरेलु हिँशा आदिका विषयमा निकै खुलेर कुरा गरेका थिए ।