काठमाडौ २०७४ साउन २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको आकष्मिक बैठकले तीन जना सांसद र १६ जन केन्द्रिय सदस्यहरुलाई पार्टीबाट ६ वर्षका लागि निष्काशित गरेको छ ।
आज बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक एकता महाधिवेश सम्पन्न नभएको ६ महिना नपुग्दै पार्टी विभाजन गर्ने कार्य दुर्भाग्यपूर्ण छ भन्दै पार्टी विभाजन गरी पार्टीहित, एकता र स्वार्थमा आघात पुग्ने गरी गैह्रजिम्मेवारी कार्यगर्ने केन्द्रिय सदस्य एवंसांसदहरुलाई पार्टी विधानको धारा २७ र २९ अनुसार साधारण सदस्य समेत नरहनेगरी ६ वर्षका लागि निष्काशन गरिएको छ भनिएको छ ।
निष्काशित सांसदहरुमा बिराजबहादुर विष्ट, बबिना मोक्तान लावती र राज्यलक्ष्मी श्रेष्ठ रहेका छन् भने निष्काशित केन्द्रिय सदस्यहरुमा दिपक बोहोरा, सुनिलबहादुर थापा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, प्रवीण चाम्लिङ, किरण गिरी, विन्दा गिरी, सगुन सुन्दर लावती, रेशम लामा पदमबहादुर लामा, पदमबहादुर बस्नेत, राजेन्द्र प्रसाद श्रेष्ठ, विष्णुविक्रम थापा, गिरिधर परियार, बिन्दु पहाडी, दिपक कुमार राई र प्रदीप कुमार उदय रहेका छन् ।
प्रवक्ता भूवन पाठकव्दारा हस्ताक्षरित विज्ञप्तीमा पार्टी हित र बृहत्तर हितलाई दृष्टिगत गर्दै अज्ञानता र भ्रमवस बाटो विराएका केन्द्रिय सदस्य र सांसदहरुलाई पार्टी मूल प्रवाहमा फर्कन आव्हान गरिएको छ ।