बुर्तिवाङ २०७३ माघ १४ । विहानै देखी बागलुङ जिल्लाको मौसम धमालधुमुल छ । जिल्लाको अधिकाँश भागमा कतै मसिनो त कतै अलि बढी पानी परेपछी चिसो ह्वात्तै बढेको छ । धेरै ठुलो पानी नपरेपनि दिनभरको मौसम धमालधुमुल रहने र चीसो बढने स्थानीयको अनुमान छ ।
यसैवीच जिल्लाको सुदूर पश्चिम बोवाङ गाविस ९ मा रहेको ढोरपाटन उपत्यकामा विहान ६ बजे देखी भारी हिमपात भैरहेको सहकर्मी दिलमायाँ अदैले जानकारी दिएकी छिन् । हिमपात थामिएको छैन, अहिले डेढ फिट हिमपात भैसकेको उनले बताईन् ।
स्थानीय राजु विकले जाडोले स्थानीयको जनजीवन कष्टकर बनेको छ, घरबाट बाहिर निस्कन समेत हम्मे हम्मे परकोे बताए । उनले हिँउमा परी घोँडा हराएकोले खोज्न जानपनि समस्या परेको बताए ।
केहि दिन पहिले ढोरपाटनमा आजको जस्तै भारी हिमपात भएको थियो । हिमपातले जनजीवन केहि कष्टकर बनेपनि ढोर उपत्यकाको सौन्दर्यमा निखार आउने हुँदा यस सिजनमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरुका निम्ति यो औधि राम्रो र उपयुक्त समय हो, सहकर्मी दिलमायाँले भनिन् ।
ढोरपाटन उपत्यकामा यस सिजनमा मानव वस्ती त्यति बाक्लो नहुने भएपनि त्यहाँ बालीनाली र बस्तुभाउको हेरचाहका निम्ति केहि मानिसहरु बस्ने या जाने आउने गरिरहन्छन् । यातायातको सुविधा, विद्युत, सन्चार आदिको सुविधाले गर्दा केहि वर्ष यता अघिल्ला वर्षहरु भन्दा अलि बढी मानिसहरु ढोरमा बस्न थालेका हुन् । तिव्वती शरणार्थीहरु यस सिजनमा बुढाबुढीहरु बाहेक सबै पोखरा,काठमाडौ तिर जाने गर्नाले उनिहरुको संख्या न्यून रहेको छ । विद्यालयहरु बन्द छन् ।
बोवाङ, अधिकारीचौर, निसी, खुँखानी आदि गाविसहरुका उच्च भूभागहरुमा पनि हिउँ पर्न सुरु भएको स्थानीयहरुले बताएका छन् ।