गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ २३ । गल्कोट क्षेत्रबाट शहरी क्षेत्रमा बसाई सराई गर्दै जाने क्रम बढेपछी उनीहरुले भोगचलन गर्दै आएको धेरै खेतीयोग्य जमिन बाँझिदै गएको छ । गाउँका पाखा पखेरा, खेतबारी बाँझिदै जान थालेपछि अन्न उत्पादनमा नराम्ररी गिरावट आएको छ ।
गाउँका अधिकाश खेतबारी प्रत्येक वर्ष बाँझिदै जाने क्रम जारी छ । सदरमुकाम र बाहिरी शहरमा बसाईसराई गरेर जानेले गाउँमा पुस्तौदेखी भोगचलन गर्दै आएका खेतवारी त्यसै छाडेर हिडने गरेका छन । गाउँघरमा अधियाँ खाएर खेतीगर्ने मानिस पाईन छोड्नु, खेती गर्ने उमेरका युवाहरु बढ्दो विदेश पलायन, बस्तुभाउ पाल्ने चलन हराउनु, मलजल, गोरु, हली, खेतलाको अभाव आदि कारणबाट गल्काटको सयौ हेक्टर जमिन बाँझिन पुगेको हो ।
बसाई सराईसँगै रोजगारीमा विदेशिएका घरपरिवारहरु शहरमा बस्ने चलनले गाउँका सयौ मुरी अन्न उत्पादन हुने खेतीयोग्य जमिन चौर जस्तै हुने थालेको गाउँका बुढापाकाको भनाई छ । गल्कोटका साबिक काँडेवास, मल्म, नरेठाटी, दुदिलाभाटी, हरिचौर लगायतका गाविसहरुका जगाजमीन बाँझै देखिन थालेका छन् ।
सानै उमेर देखी खेतीपातीमा लागेर अन्न बेचेका बुढापाका पनि यतिबेला चामल किनेर खाने गरेका छन गल्कोटबाट थुप्रै परिवार शहरतिर झरेपछि खेतवारी बाँझिएको गाउँमा बस्नेहरुले बताउछन । मानो रोपेर मुरी उत्पादन हुने खेतबारी वर्षेनी बाँझिदै गएको देख्दा बुढापाकाहरुले मन दुख्ने गरेको बताउछन् ।
ताराखोला गाउपालिकामा समेत बसाई सराईको दर तिब्र रहेको छ । बसाईसराइृका लागी ताराखोला गाउपालिका भित्रका खेतवारीमा अन्न खेती गर्ने क्रम घट्दै गएको छ । सुविधाका लागि शहर पस्दै गएपछि गाउँका घर र गोठ पनि जीर्ण हुदै गएका छन भने विदेशिएका युवाहरु शहरमा घर घडेरी किनेर गाउँ फर्कन छाडेपछि घरमा बुढाबुढी मात्रै टुकुक्र बसेको देखिन्छ भने अधिकाश विदेशिएकाले शहर बजारमा कोठा भाडा लिएर बस्न थालेपछि पशु पालन र खेती गर्ने जनशक्ति अभावमा सयौ मुरी अन्न उब्जने ठाउँमा घाँस उम्रेको छ ।
‘पहिले यी उब्जाउ भूमिमा अन्नबाली फल्थ्यो, अहिले जताततै घाँस झार उम्रिएको छ; बिडम्वना यहि घाँस झारपात खाने पशुचौपाया पनि छैनन् !’ काँडेवासका एक बृद्धले अन्नबाली झुल्ने खेतमा घाँस-झार उम्रेको देखाउदै भने ।