गल्कोट २०७५ जेठ १० । अहिले गल्कोट हटिया स्थित गल्कोट बहुमुखी क्याम्पसको शैक्षिक, आर्थिक,, भौतिक आदि विषयलाई लिएर मन्थन सुरु भएको छ । बिसं २०६१ सालमा स्थापित यस क्याम्पस सन्चालनका लागि २०६१ साल फागुन १४ गतेदेखी ऐ २२ गते सम्म गल्कोट उच्च माबिको प्रांगणमा विशाल धनधान्यान्चल ज्ञानमहायज्ञ सम्पन्न गरी सोहि महायज्ञबाट संकलित राशीबाट क्याम्पसको भवन निर्माण र क्याम्पस सन्चालनमा सहयोग पुगेको स्थानीयहरुको भनाई छ ।
क्याम्पसव्दारा प्रकाशित गल्कोट दिव्यदृष्टि स्मारिकामा उल्लेख भए अनुसार महायज्ञमा जम्मा बोल रकम रु १ करोड ४९ लाख ४१ हजार ५ सय १० मध्य तत्कालै रु ५० लाख २९ हजार ९ सय १८ जम्मा भएकोे थियो भने धान बिक्रीबाट रु १ लाख ३० हजार आम्दानी भएको थियो ।
क्याम्पसव्दारा २०७१ सालमा प्रकाशित स्मारिका अनुसार बोल रकम मध्य रु १ करोड ३३ लाख २७ हजार ३५ उठिसकेको र अझै उठ्न बाँकी रु १६ लाख १४ हजार ५ सय ५५ रहेको छ ।
पछिल्लो समय क्याम्पसमा बिद्यार्थी संख्या न्यून हुँदै गएको र क्याम्पसको आम्दानीको श्रोत समेत घट्दै गएपछी व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधी, शिक्षा प्रेमी, सामाजिक अभियन्ता विद्यार्थीहरु सजग देखिएका हुन् ।
धान्यान्चल ज्ञान महायज्ञमा बोल रकम मध्य कति उठ्या,े कति बाँकी छ ? भन्ने जिज्ञासाहरु बाहिर आएका छन् । अर्काेतर्फ क्याम्पसले प्रकाशित गरेको स्मारिकामा महायज्ञको आम्दानी मध्यबाट रु १० लाख माओवादीलाई चन्दा भन्ने उल्लेख भएको तर चन्दा लैजानेको नाम उल्लेख नभएकोले रकम बुझी लैजाने व्यक्तिको नाम सार्वजनिक गर्नुपर्ने चर्चापनि गल्कोटमा चलेको छ ।
धान्यान्चल ज्ञानमहायज्ञमा उठन बाँकी रकमका सम्वन्धमा उठेका चर्चा बारे क्याम्पसका लेखापाल नवराज गौतमसंग ईबागलुङले चासो राख्दा रकम उठ्ने क्रम जारी छ, धेरै जसो रकम उठिसकेको बताए । आम्दानी खर्चको विवरण क्याम्पसव्दारा प्रकाशित स्मारिका पुस्तकमा समेत सार्वजनिक भएको बताउदै गौतमले केहि बिद्यार्थीले चर्चा चलाएका होलान धान्याचल महायज्ञमा संकलित रकम हिनामिना नभएको स्पष्ट पारे ।
जुन जग्गामा क्याम्पसको भवन निर्माण भएको छ त्यो जग्गा हटिया निवासी श्रीमती गंगा कुमारी भण्डारीले आफ्ना स्वर्गीय श्रीमान ईन्द्रबहादुर भण्डारीको स्मृतिमा क्याम्पसलाई दान दिएको स्थानीयको भनाईलाई लिएर लेखापाल गौतमलाई सो जग्गा क्याम्पसको नाममा रजिष्ट्रेशन पास भए नभएको बारे बुझ्दा लेखापढी गरेर दिएको तर मालपोतमा पास भैनसेको बताए ।
क्याम्पसको चार तले पक्की भवनका तलका दुई तलाहरु क्याम्पसले प्रयोग गरिरहेको र माथिल्ला दुई तलाहरु गल्कोट माध्यमिक बिद्यालयले प्रयोगमा ल्याएको हुँदा पछी भवनको स्वामित्वलाई लिएर बिबाद पर्न सक्छ कि ? भन्ने प्रश्न गर्दा गौतमले जग्गा दाताहरुले क्याम्पसको नाममा जग्गा दिएको बताउदै छिट्टै नै जग्गा क्याम्पसको नाममा पास गर्ने जानकारी दिए ।
त्यसो त, गल्कोट माबि र गल्कोट बहुमुखी क्याम्पस गल्कोटबासीकै धरोहर भएकाले भवनको स्वामित्वलाई लिएर भविष्यमा कुनै बिबाद आउने शंका गर्नु हतार हुनेछ तर दाताहरुले जग्गा जुन प्रयोजनका लागि दान दिएका हुन सोही अनुरुप जग्गा पास गरिनु बुद्धिमानीहुने शिक्षाप्रेमीहरुको मनसाय रहेको छ ।
जग्गादाताहरु मध्यका हिरा भण्डारीले जग्गा गल्कोट बहुमुखी क्याम्पसको भवन बनाउन दिएको प्रष्ट पारे । तत्कालीन अवस्थामा स्व बुबा ईन्द्रबहादुर भण्डारीको अर्धकदको शालिक राख्ने सहमति भएको स्मरण गर्दै त्यो पूरा नभएकोमा उनले चित्त दुखाए । भण्डारीले भने कताकता सुन्छु हामीले दिएको जग्गा गल्कोट माबिको पनि हो । उनले प्रष्ट शव्दमा भने हामीले जग्गा क्याम्पसका नाममा दिएको हो, क्याम्पस कै नाममा पास गरिदिन्छौँ ।
स्मरणीय छ, गल्कोट माबिले चलनचल्तीमा ल्याएको भवनको माथिल्ला दुई तलामा कक्षा ११ र १२ का विद्यार्थीहरुले पढिरहेका छन् ।
क्याम्पसको बर्तमान अवस्थाबारे संज्ञान लिन ईबागलुङले क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम संग सम्पर्क गर्दा पछिल्लो समय विद्यार्थी संख्यामा कमी आएको बताउदै उनले ३ सय सम्म विद्यार्थी भएमा क्याम्पस सन्चालनमा सहयोग पुग्ने जानकारी दिए । हाल भएका पुगनपुग १७५ जना बिद्यार्थीहरुबाट उठेको शुल्कबाट क्याम्पसको आर्थिक भार थेग्न समस्या परेको उनको भनाई थियो ।
केहि महिना पहिले मात्र क्याम्पस प्रमुखको जिम्मेवारी लिएकोले यहाँका समस्याहरु बारे बुझ्दै छु, सबैसंग छलफल गरेर क्याम्पस सन्चालन गर्ने उनले जानकारी दिए ।
पूर्व क्याम्पस प्रमुख देबेन्द्र बहादुर खत्रीसंग फोन सम्पर्क गर्न खोज्दा मोबाईल स्वीचअफ थियो भने क्याम्पस व्यवस्थापन समितका अध्यक्ष मुकुन्द भण्डारीको फोन उठेन ।
तर पूर्व क्याम्पस प्रमुख खत्रीले स्मारिकामा धनधान्यान्चलबाट उठेको रकमव्दारा हाल उभिएको चारतला भवनको दुई तला भवन धनधान्यान्चलको रकमबाट निर्माण भएको थियो भने बाँकी दुई तला क्याम्पसको र उमाबि आन्तरिक आम्दानी तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा निर्माण गरेको उल्लेख गरेका छन् ।
क्याम्पस स्ववियुका सभापति गुमानसिँह भण्डारीले क्याम्पस सन्चालनका सम्वन्धमा छलफल गर्न यहि जेठ १९ गते भेला बोलाईएको बताउदै सो भेलामा बृहत् छलफल हुने जानकारी दिए ।