गल्कोट २०७५ असार ११ । बागलुङ जिल्लाका विभिन्न खोलानालाहरुमा निर्माणाधीन अवस्थामा रहेका मोटरेबल पुलहरु तोकिएको समयमा सम्पन्न गराउन प्रशासनिक तदारुकता देखिएको छ ।
हालैमात्र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निरीक्षण अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले गल्कोट नगरपालिकाको काँडेबास र मल्म जोड्ने दरम खोलाको मोटरेबल पुलको ठेकदार वाईपी कन्स्ट्रक्सनका रविन जोशीले पुल निर्माण कार्यमा गरेको ढिलाईलाई मध्य नजर गर्दै पुलको तत्काल निर्माण कार्य अघि बढाउन वा ठेक्का रद्द गरी कालो सुचीमा निकाल्न सडक डिभिजन प्रमुख सिनियर डिभिजन ईन्जिनियर थानेश्वर खत्रीलाई ठेकेदारकै सामुन्ने निर्देशन दिएको बताए ।
प्रजिअ खरेल संगै रहेका डिभिजन सडक कार्यालयका प्रमुख खत्रीले छिटो निर्माण कार्य सम्पन्न गर्न ताकेता गरिएको ईबागलुङलाई बताए ।
डिभिजन सडक कार्यालयका सूचना अधिकारी कन्देश्वर साहका अनुसार सो मोटरेबल पुलको निर्माण सम्पन्न गर्ने अवधी आगामी २०७५ सालको माघ महिना सम्म रहेको छ । सूचना अधिकारी शाहलाई तोकिएको समयमा पुल निर्माण सम्भव छ ? भन्ने प्रश्न गर्दा उनले पत्राचार गरिरहेको बताए ।
उक्त निर्माणाधीन पुलको हालको अवस्था हेर्दा आगामी माघ महिना भित्र पुल सम्पन्न हुने सम्भावना नरहेको स्थानीयले ईबागलुङलाई बताए ।
दुईवर्ष पहिले निर्माण कार्य सुरु गरेर एकातिरको खण्डमा रडहरु राखी अलपत्र अवस्थामा रहेको सो पुलको निर्माणमा भएको ढिलाई बारे समाचार सम्प्रेषन गर्दा ठेकदार रविन जोशीले किन समाचार लेख्ने ? भनेर पत्रकारहरुलाई धम्की समेत दिएका थिए ।