प्रेम सुनार, मुस्ताङ २०७५ असार २२ । आज दिउँसो मुस्ताङ्गमा ट्रिपर गाडी दुर्घटना हुँदा १८ जना मजदुरको घटना स्थल मै ज्यान गएको छ । १४ जना गम्भीर घाईते भएका छन ।
दिउँसो साढे १ वजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई खान खुवाउन लाई फर्काउने क्रममा बा २ क २२१९ नम्वरको ट्रिपर सडक देखि करिव ५० मिटर तल खस्दा ती मजदुरहरुको ज्यान गएको हो । मृतकहरु अधिकांस दाङ र रोल्पाका छन ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका वडा नम्वर ३ स्थित स्याङवोछे भन्ने स्थान र घिलिङ्ग गाउँका विचमा पर्ने स्थानमा उक्त दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमा क्रमशः रोल्पाका १९ वर्षिय महेश रोका, ३२ वर्षिय रामकुमार पुन, ३२ वर्षिय सन्तु घर्ति रहेका छन । त्यस्तै दाङ्गका ३० वर्षिय वालकुमार घर्ति, ३१ व्र्षिय कविता घर्ति मगर, ४३ वर्षिय शान्ति थापा, ३२ वषिय सुवेर चौधरी, २५ वर्षिय कमल बुढा रहेका छन ।
त्यस्तै धादिङका २३ वर्षिय सुजन घलान , सिन्धुलीका २० वर्षिय जीवन माझी , कैलालीका २२ वर्षिय विनिता थापा कपिलबस्तुका ३५ वर्षिय कमानसिंह रोका र स्याङ्गजाका २४ वर्षिय कृष्ण क्षेत्री रहेका छन ।
यो समाचार लेख्दा लेख्दै घाईतेहरु मध्ये प्रहरीले थप तिन जना रोल्पाका मजुदुरहरुको मत्यु भएको जानकारी दियो । थप मृत्यु हुनेहरुमा ३१ व्र्षिया जितमाया घर्ति, २० वर्षिया सिर्जना घर्ति र २३ वर्षिय राष्ट्रे रोका रहेका छन ।
घाईतेहरुको उपचारका लागि सदरमुकाम जोमसोङ जिल्ला अस्पताल तर्फ लैजाँदै गरिएको प्रहरीले जनाएको छ । घटना स्थलबाट सदरमुकाम ५० किलो मिटर दुरीमा पर्छ । ५ जना घाईतेलाई जिपमा भर्खर हिडालिएको छ ।
अविरल वर्षाका कारण सडक ठाउँ ठाउँमा पहिरो गएको छ । त्यस कारण छिटो उनिहरुलाई अस्पताल पुराउन नसकिएको प्रहरी बताउँछ । अव बाँकी १४ जना घाईतेहरु प्राय सवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दियो ।
ती मजदुरहरु विरुवा कन्ट्रक्शन प्रा.लि. मार्फत मुस्ताङ्गको त्यस स्थानमा सडक निर्माण कार्यमा पुगेका थिए । कतिपय श्रीमान श्रीमति र सन्तान सहित काम गर्न पुगेका उनिहरु मध्ये कतिपयका सन्तानको विचल्ली भएको छ । घटना स्थलमा रुवावासी थियो ।