गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ ४ । गल्कोट नगरपालिका हटियामा एउटै मोटरसाईकलमा दुई ओटा नम्बर प्लेट भेटिएको छ ।
ट्राफिक शाखा कार्यालय गल्कोटका प्रमुख पुर्ण बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार मोटरसाईकलको पछाडि लु ६ प ७२३६ र अगाडि ध १ प ५२९७ नम्बरको प्लेट राखिएको पल्सर मोटरसाईकल (बाईक) भेटिएको छ । आईतबार हटियामा चेकिङ गर्दै गर्दा उक्त बाईक समातिएको हो ।
मोटरसाईकल (बाईक) चालकको नाम भने खुलेको छैन । हिजो मोटरसाईकल (बाईक) छोडेर गएपछि लिन नआएकाले नाम थाहा नभएको श्रेष्ठको भनाई छ ।
अगाडीबाट हेर्दा ध १ प ५२९७ र पछाडीबाट हेर्दा लु ६ प ७२३६ देखिने गरी मोटर साइकलमा नम्बर प्लेट राख्नु पर्ने कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । यस प्रकार एउटा मोटर साईकलमा दुई प्रकारको नम्बर प्लेट राख्नु कुनै अपराधिक प्रयोजनको लागी हुन सक्ने अनुमान स्थानीयवासीको अनुमान छ ।