ढोरपाटनको मेयरमा शेरचन, बडीगाडको प्रमुखमा गण्डकी, निसीको प्रमुखमा पौडेल !
बुर्तिवाङ २०७४ बैशाख १५ । स्थानीय तहको निर्वाचनका लागि बागलुङ जिल्लाको ३ न क्षेत्रबाट नेपाली काँग्रेसले उमेदवार चयन गरेसँगै बिद्रोह सुरु भएको छ ।
निसीखोला गाउपालिकाको अध्यक्ष पदका आकांक्षीहरु प्रकाश कुँवर, तारानाथ पौडेल र तुलासिँह घर्तीवीच उमेदवारको सहमति हुन नसकेपछी अन्तिम निर्णयको लागि जिल्ला कार्यसमितिमा नाम पठाउने निर्णय भएको भनिएपनि बीच बाटोमै समितिले तारानाथ पौडेललाई प्रमुख पदको उमेदवार बनाउने निर्णय गरेपछी पार्टी भित्र बिद्रोह सुरु भएको हो ।
साबिक राजकुत गाविस हाल निसीखोला गाउपालिका- ७ बाट प्रमुख पदका आकाँक्षी नेपाली काँग्रेस जिल्ला सदस्य प्रकाश कुँवर तथा सोही वडाका नेपाली काँग्रेसका अध्यक्ष दिपक कुँवरले एक विज्ञप्ती प्रकाशित गरी पार्टीले निसीखोला गाउपालिकाका काँग्रेस कार्यकर्ताहरुको चाहना विपरीत षडयन्त्र पूर्वक उमेदवार छानिएकोमा बिरोध जनाएका छन् ।
प्रमुख पदका आकांक्षी प्रकाश कुँवरले पार्टीले जनभावना नै नबुझी षडयन्त्रपूर्वक आफुलाई टिकट नदिएकोले आम कार्यकर्ताको भावनालाई कदर गर्दै निसीखोला गाउपालिकाको प्रमुख पदमा स्वतन्त्ररुपमा उमेदवारी दिने बताए । साविक राजकुत गाविस हाल निसीखोला ७ को वडा समितिमा पुरै स्वतन्त्र उमेदवारी दिने उनको भनाई थियो ।
बुधबार बुर्तिवाङमा भएको क्षत्रिय समितिको बैठकबाट ढोरपाटन नगरपालिका, निसीखोला र बडीगाड खोला गाउपालिकाको उमेदवारको टुंगो लाग्न नसकेपछी अन्तिम निर्णयको लागि जिल्ला कार्यसमितिमा नाम पठाउने निर्णय भएको बताईएको थियो ।
श्रोतका अनुसार, बिहीवार राति काँग्रेसले ढोरपाटन नगरपालिकाको मेयरमा अर्जुन शेरचन, बडीगाड गाउपालिकाको प्रमुखमा गण्डकी थापा अधिकारी र निसीखोला गाउपालिकाको पमुखमा तारानाथ पौडेललाई उमेदवार बनाउने टुंगो लगाएको छ ।
यसैगरी ढोरपाटन नगरपालिकाको उपमेयरमा दिलमाया पौवी, बडीगाड गाउपालिका उपप्रमुखमा साविक जलजला गाविसका पूर्व गाविस अध्यक्ष अमर श्रीस र निसीखोला गाउपालिकाको उपप्रमुखमा पूर्व शिक्षिका शोभा कार्की उमेदवार चयन गरिएको छ ।
तमानखोला गाउपालिकामा भने नेपाली काँग्रेसले पहिलेनै प्रमुख उपप्रमुख लगायत वडा समितिका उमेदवारको टुंगो लगाएको थियो ।