लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७४ बैशाख २१ । नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द नेपालीले देशभरी नै एमालेको जित सुनिश्चित रहेको बताएका छन् ।
बुर्तिबाङ बसपार्कमा आयोजना गरिएको सभामा नेपालीले, ढोरपाटनको मेयरमा एमोलको जीत सुनिश्चित भएको दाबी गर्दै अन्य पार्टीबाट मेयर पदका उमेदवाहरुको नामै किटान गरेर, नाम फिर्ता लिन सुझाव दिए ।
“उमेदवारहरुले नाम फिर्ता लिने आधा घण्टा समय बाँकी छ’, केन्द्रिय सदस्य नेपालीले भने, ‘माओवादी केन्द्रका शेरमान घर्ती, नेपाली काँग्रेसका अर्जुन शेरचन र जनमोर्चाका गौरीश्वर पाण्डेलाई चुनावी मैदान छोड्न आग्रह गर्दछु ।”
कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका एमालको तर्फबाट मेयर पदका उम्मेद्वार देवकुमार नेपालीले आफुले ढोरपाटन क्षेत्रलाई अति मायाँ गर्ने भएकोले यहाँका विद्यालयहरुलाई आर्थिक सहयोग गर्ने गरेको उल्लेख गरेका थिए ।
त्यस्तै उनले बुधबार घोषणा गरेको बुर्तिबाङ देखि पोखरा सम्मको निशुल्क बससेवा, एम्बुलेन्स सेवा हरहालतमा पुरा गर्ने र विजयी भए सरकारी तहबाट प्राप्त हुने सेवासुविधा कुनै पनि हालतमा नलिने कुरालाई दोहो¥याएका थिए ।
विशिष्ट अतिथीको रुपमा बोल्दै किसान महासंघका केन्द्रिय सदस्य मोहनलाल शर्माले बाम तालमेलको लागि एमालेले हदैसम्मको लचकता अपनाउँदा पनि सफल हुन नसक्नु कम्युनिष्टहरुको लागि दुखद् पक्ष रहेको उल्लेख गरेका थिए ।
त्यस्तैनेकपा माओबादी केन्द्रबाट एमालेमा प्रवेश गरेका दधिराम शर्माले कम्युनिष्टलाई जिताउन नै आफुले पार्टी परित्याग गरेको बताएका थिए ।
ढोरपाटन नगर संगठन कमिटिका संयोजक तथा जिल्ला सचिवालय सदस्य लक्ष्मण पुनमगरको अध्यक्षता रहेको कार्यक्रममा युवा संघ बागलुङ्का उपाध्यक्ष रेसम घर्तिमगर, स्थानीय समाजसेवी बेगबहादुर पुनले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्च प्रदेश नं.४ का सदस्य दलबहादुर घर्तिमगर, संघीय मामिला तथा स्थानीय निकाय प्रदेश नं ४ का सदस्य टंक पौडेल, उपमेयर पदका उम्मेद्वार कर्मती घर्तिमगर तथा छेला नेपालीको सहभागिता रहेको थियो ।
पञ्चेबाजाको टोली सहित बजार परिक्रममा गरी बसपार्कमा आएर कार्यक्रम सभामा परिणत भएको थियो ।
ढोरपाटन नगर संगठन कमिटीका उपसंयोजक तथा जिल्ला कमिटिका सदस्य केशर छन्त्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सुनिलकुमार घर्तिमगरले गरेका थिए ।