विजय राना, बागलुङ २०७४ जेठ २९ । बागलुङको जैमिनी नगर पालिका वडा न. १ ठेऊलेखोलामा निर्माणाधिन २० मिटरको पुल ३ वर्ष बिति सक्दा पनि पूरा हन सकेको छैन ।
साविकको जिल्ला विकास समितिको कार्यालय बागलुङको आर्थिक सहयोग रहेको पुल निर्माण कार्यको लागि २०७१ साल असार २५ गते चितवनको एक ठेकेदार कम्पनी एमआरएन तथा अनेष्ट जेभिले सम्झौता गरेको थियो ।
१ करोड ९९ लाख ५६ हजार ५ सय ९८ रुपैयाँमा २०७२ साल माघ ३० गते सम्म सक्ने गरि सम्झौता भएको कुश्मिसेरा सर्कुवा जोड्ने ठेउले खोला पुल ३ वर्ष बिति सक्दा समेत पुल निर्माण कार्य सकिएको छैन ।
पुल निर्माणको लागि पटकपटक म्याद थप हुँदा समेत काम नसक्ने ठेकेदार कम्पनि प्रति जिल्ला विकास समितिले अहिले सम्म कुनै पनि कानुनी कार्वाही गर्न सकेको छैन ।
स्थानीयबासीले भने समयमै पुल निर्माण हुन नसक्नुमा जिल्ला समन्वय समितिको कार्यालय, ठेकेदार कम्पनि र जिल्ला प्राविधिक कार्यालयको मिलेमतो रहेको आशंका व्यक्त गरेका छन् ।
२० मिटर पुल बनाउन ३–३ वर्ष लगाउनुले विकासे काम गर्ने संस्थाहरुको नियतनै गलत रहेको एक स्थानीयले बताए । समयमै पुल नबन्दा दक्षिणको अन्य विकास निर्माणको कार्यलाई समेत प्रभावित बनाएको छ ।
यस बारेमा जिल्ला प्राबिधिक कार्यालय बागलुङका प्रमुख इन्जिनियर खगेन्द्र दाहालले ठेकेदार कम्पनिले वास्तविक लोकेसनमा काम गर्न नपाएकोले समयमै काम नसकिएको बताए ।
पुल निर्माण हुने केही तल मात्रै हाइड्रो पावर निर्माण गर्न लागिएकोले पुलको डिजाइन परिवर्तन गर्नु परेको र बाटो निकासको लागि स्थानीयले जग्गा नदिएको कारण समस्या पैदा भएको दाहालको भनाई छ ।
समयमै पुल निर्माण पूरा हुन नसक्दा जैमिनी नगर पालिकाको सर्कुवा, बिनामारे, अर्जेवा, जैदि, राङखानी बरेङ लगायतका ठाऊँ सम्मको यातायात सेवा प्रभावित हुने गरेको छ ।
हिउँदमा खोला सानो हुने भएकोले गाडी खोलाबाट तरे पनि बर्खाको समयमा यातायातका साधनहरु ठप्प हुने गर्दछन् ।