विजय राना, बागलुङ २०७४ असार २५ । बागलुङमा सञ्चालित तीन दिने रिसर्च वर्कसप (अनुसन्धान कार्यशाला) शनिबार सम्पन्न भएको छ ।
धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र त्रिभुवन विश्व विद्यालय अनुसन्धान केन्द्र काठमाडौँको संयुक्त आयोजनामा भएको गोष्ठि समापनमा बोल्दै केन्द्रका प्रमुख तारादत्त भट्टले अनुसन्धान कार्यशालामा सिकेका सिकाईलाई व्यवहारिक रुपमा उतार्न सहभागिलाई आग्रह गरेका थिए ।
भट्टले सिकेका कुरालाई व्यवहारिक रुपमा उतारी प्राज्ञिक अनुसन्धान कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
गोष्ठीमा डा. सरोज कोईराला, डा.तारादत्त भट्ट, डा.दिनबहादुर थापा, गंगाराम गौतम, शोभाकान्त लामिछाने, लेखनाथ भट्टराई, पुस्पराज शर्माले प्राज्ञिक अनुसन्धान, प्रस्तावना लेखन लगायतका विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा सहजकर्ता डा.सरोज कोइराला, धवलागिरी बहुमुखी क्याम्पस बागलुङका सहायक प्रध्यापक धु्रवराज गौतम, रामराज कँडेल, दुर्गा पाण्डे, चूणामणी शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ एवं कास्की जिल्लाका गरी झण्डै ३० जनाको सहभागिता रहेको थियो ।
धवलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हरि पाण्डेयले गरेका थिए ।