बैंकहरु भन्छन्- सचिवहरुकै ढिलासुस्तीले सामाजिक सुरक्षा भत्ता भुक्तानीमा ढिलाइ भयो !
लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७४ असार २५ । असार मसान्त नजिकिदै जाँदा समेत बागलुङ पश्चिम क्षेत्रका नागरिकले अझैसम्म ८ महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । यसभन्दा अगाडि साविकका गाउँ विकास समितिका सचिवहरुले सामाजिक सुरक्षा भत्ता साविकका गाविसबाट नगदै वितरण गर्दै आएकोमा अहिले बुर्तिबाङ स्थित ३ ओटा बैकहरु प्रभु बैक, गरिमा विकास बैंक र साइन रेसुङ्गा बैंकले संझौता गरि वितरणको जिम्मा लिएका थिए ।
यतिबेला वर्षाको समयमा दिनहुँ जसो जेष्ठ नागरिकहरु बैंकमा धाउने गरेको र रित्तै फर्कने गरेका गुनासाहरु संचार माध्यममा समेत आइरहेका छन् । त्यति मात्र होइन सामाजिक सुरक्षा भत्ता कहिले आउला र वर्षाको समयमा घरको सारोगारो गर्जाे टार्ने होला भनी पर्खाइमा बसेका जेष्ठ नागरिकलाई समेत ८ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन नसक्दा निकै समस्या परेको बताउँदै आएका छन् । यसबारे सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएका बुर्तिबाङ स्थित ३ ओटै बैंकहरुसंग अझैसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न किन नसकिएको हो ? भनी प्रतिक्रिया बुझ्दा फरक फरक प्रतिक्रिया पाइएको छ ।
साविकको अधिकारीचौर र खुंगा गाविसको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको गरिमा विकास बैक बुर्तिबाङ शाखाका प्रमुख हिरामणि पराजुलीले पहिलो पटक मात्र यस बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा खाता खोल्नेदेखि दिएर सबै काम गर्नका लागि संझौता ढिलो गरि भएकाले र सचिवहरुबाट पनि समयमा यथार्थ तथ्यांक नआएको र रकम समेत ढिलो गरि आएका कारण रकम वितरणमा ढिला भएको बताएका छन् । पराजुलीले थप जानाकारी दिंदै अहिले ५ सयभन्दा बढीको खातामा सामाजिक सुरक्षा रकम हालिसकेको र अरु काम बाँकी रहेको बताए ।
साथै सचिवबाट आएका तथ्यांकमा २ सय ५० भन्दा बढीको तथ्यांक नभिडेकाले समस्या आएको समेत बताए । उनले सचिबहरुकै कारणले यो समस्या आएकाले परामर्श गरेर मात्र काम टुङ्गाउने बताए । अहिले बैंकको खातामा रकम आएको भए पनि असार मसान्तको बेला अत्यधिक कामको चाप भएकाले साउन पहिलो हप्ताभन्दा अगाडि सामाजिक सुरक्षा भत्ता वितरण गर्न संभव नरहेको बताए ।
उता साविकको बोहरागाउँ र अधिकारीचौर गाविसको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएको साइन रेसुङ्गा बैंक बुर्तिबाङ शाखाका प्रमुख प्रकाश श्रेष्ठलाई यसबारे सोध्दा गत शुक्रबार मात्र ढिला गरि रकम बैंकको खातामा आएको र पहिलो पटक बैंकबाट वितरण गर्नु परेकाले काममा ढिलाइ भएको बताए । साथै असार मसान्तसम्म सबैको खातामा रकम जम्मा गरिने र त्यसपछि सूचना गरि एकैदिन भीड नहुने गरि क्रमशः साविकका वडाहरुलाई रकम भुक्तानी गरिने बताए ।
उता साविकको बुर्तिबाङ, देविस्थान र भीमगिठे गाविसको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएको प्रभु बैंक लिमिटेड बुर्तिबाङ शाखाका प्रमुख खिम के.सी.संग प्रतिक्रिया लिदा सामाजिक सुरक्षा भत्ताको रकम २ हप्ताभन्दा अगाडि खातामा आइसकेको भएपनि सचिवहरुबाट आउनु पर्ने तथ्यांक लिष्ट आउन ढिलाइ भएकाले रकम वितरण गर्न नसकिएको बताए । साविकको बुर्तिबाङ गाविसबाट आवश्यक तथ्यांक आउन अझै ढिलाई भएकाले सचिव चण्डी प्रसाद पौडेललाई जानाकारी गराएको समेत उनले बताए ।
साथै केही समय अगाडि साविकका गाविस सचिवहरुले सुरक्षा भत्ता वितरण गरिने सूचना स्थानीय संचार माध्यमहरु मार्फत दिएर सेवाग्राहीलाई दुख दिएको बताउँदै त्यसमा बैंकको कुनै दोष नरहेको बताए । यति बेला असार मसान्तको बेला भएकाले बैंकको आफ्नै आन्तरिक कामको चाप भएकाले र सचिवबाट आउनु पर्ने कतिपय तथ्यांक समेत आइ नपुगेकाले असार मसान्तसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिने बताउँदै ८ महिनाको एकमुष्ट रकम साउन पहिलो हप्ताबाट मात्र वितरण गरिने उनले बताए ।
स्मरण रहोस् केही समय पहिले सामाजिक सुरक्षा भत्ता वितरण गरिने भनी सार्वजनिक सूचना स्थानीय संचार माध्यमबाट बजेपछि जेष्ठ नागरिकहरु वर्षातको समयमा लामो दुरीबाट हिडेर बैंकमा धाउँदा समेत रकम नपाएपछि सास्ती पाएर रित्तो हात घर फर्कन बाध्य भएका थिए । अहिले साविकका केही गाविसहरुको ४ महिनाको र केही गाविसहरुको ८ महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गर्न बाँकी रहेको बताइएको छ । लामो समयसम्म सामाजिक सुरक्षा भत्ता नपाउँदा जेष्ठ नागरिकहरु मर्कामा परेका छन् ।