विजय राना, बागलुङ २०७४ साउन ५ । बागलुङमा विहिबार आयोजित एक कार्यक्रमका सहभागिले अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई तत्काल पास गर्नु पर्नेमा जोड दिएका छन् ।
नागरिक सम्वाद केन्द्र बागलुङले आयोजना गरेको अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टिप्पणी तथा सुझाव संकलन कार्यक्रमका सहभागिले कानुनको अभावमा पीडितले न्याय पाउन नसकेको भन्दै विधेयकलाई तत्काल पास गर्नु पर्नेमा जोड दिएका हुन् ।
सहभागिले पीडितको संरक्षण गर्ने कानुन् अभावका कारण जबरजस्ती करणी जस्ता जघन्य अपराधका पीडितले समेत खुलेर बाहिर आउन नसकेको टिप्पणी गरेका थिए ।
बिना अपराध लामो समय जेल जीवन बिताएर अदालतबाट निर्दोष सावित भएका पीडितको न्याय र क्षतिपूर्तिको प्रभावकारी कार्यान्वयनको लागि पनि विद्येयक पास गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।
कार्यक्रममा नागरिक सम्वाद केन्द्र प्रमुख राम शर्माले संसदमा पेश भएको अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा सहजिकरण गरेका थिए ।
नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, उच्च अदालत बार एशोसियसनका निवर्तमान अध्यक्ष, कृष्ण प्रसाद न्युरे, अधिवक्ता हरि शर्मा, हरिकृष्ण सुवेदी, बहिरा संघका सन्तोष पौडेल, जिल्ला प्रहरी कार्यालयका सागर शर्मा, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विजय राना लगायतले सुझाव तथा टिप्पणी गरेका थिए ।
कार्यक्रमको सञ्चालन नागरिक सम्वाद केन्द्रकी सावित्री खड्काले गरेकी थिईन् ।