प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ साउन ६ । गत वर्ष साउन १० गते राति आएको बाढी पहिरोले बगाएका ढोरपाटन नगरपालिका- ५ साविक अधिकारीचौर गाविसका पुलहरु अझै पुननिर्माण हुन नसक्दा स्थानीयहरु ज्यान हत्केलामा राखी वारपार गरिरहेका छन् । मध्य वर्षा हुन लाग्दा समेत ढोरपाटन नगरपालिका—५ का स्थानीयहरु जोखिमपूर्ण अवस्थामा रहेको पुलको प्रयोग गर्न बाध्य भएका हुन् ।
गत बर्ष भूजिखोलामा आएको बाढीले क्षती पु¥याएको साविक अधिकारीचौर वडा नं. २ र वडा नं. ९ जोड्ने साराखेत भन्ने स्थानमा रहेको पुल पूर्ण रुपमा मर्मत हुन नसकेपछि त्यहाँका बासिन्दाहरु जोखिमपूर्ण तरिकाले वारपार गर्न बाध्य बनेका हुन् । पुलको अर्ध मर्मत कार्यले स्थानीयहरु थप जोखिमको सामना गरिरहेका छन् ।
अहिले साविक अधिकारीचौरका घर्तिथोक, नाथुरी, बाहुनगाउँ, छापडाँडाका स्थानीयहरुले जोखिम मोलेरै भएपनि उक्त जोखिमपूर्ण अवस्थामा रहेको पुलको प्रयोग गर्न बाध्य बनेका छन् । साथै प्याङ्खोला, मस्ति, चौर तथा निसीखोला गाउँपालिका—२, देउरालीका विद्यार्थीहरु समेत उक्त पुल प्रयोग गरेर भूजी माध्यमिक विद्यालयमा अध्ययन गर्न बाध्य छन् ।
केही दिनअघिमात्र रु. १ लाख ५० हजारको लागतमा ठेक्कामार्फत पुललाई मर्मत गर्ने प्रयास गरिएको थियो । तर पुलमा बाढीले धेरै नै क्षती पु¥याएको कारण जोखिम हट्ने गरेर नै मर्मत गर्न नसकिएको हो । अहिले पुलको एकातिरको भागमा बाढी पस्ने सम्भावना निकै बढेको र तटबन्धन गर्ने प्रयास गर्दागर्दै खोलाको बहाब बढेकोले तत्काललाई त्यो सम्भव नभएको वडा नंं. ५ का नवनिर्वाचित वडाअध्यक्ष लक्ष्मण पुनमगरले बताए । हालै सम्पन्न नगर परिषदबाट पनि उक्त पुलको लागि कुनै बजेट विनियोजन नभएको तर नीतिगत रुपमा नै निर्णय गरी पुनर्निमांणको लागि केन्द्रमा प्रस्ताव लगिने उनले बताए ।
अहिले उक्त पुलको दायाँबायाँको तारसहितको लठालाई बाँसको सहायताबाट अड्याइएको छ भने क्षती भएको एकातिरको मुट्कालाई पिलरबाट ठडाइएको छ । बाढीको कारण त्यो कुनै पनि बेला ढल्न सक्ने भएकोले ढोरपाटन नगरपालिका—५ तथा निसीखोला गाउँपलिका—२, देउरालीका गरि करिब ६०० घरधुरीका विद्यार्थी तथा स्थानीयहरुलाई वारपारमा जोखिम रहेको स्थानीय नरबहादुर विकले बताए । नाथुरीका धेरै स्थानीयहरु व्यवसायिक कृषि पेसामा लागेको र त्यहाँ उत्पादन भएका तरकारी बजारसम्म ल्याउन समस्या भएको स्थानीय टेकलाल कँडेलले बताए ।
गत बर्षको बाढीले उक्त पुलभन्दा भन्दा केही माथि बुढाथोक भन्ने स्थानमा रहेको झोलुङ्गे पुलपनि बगाएको थियो । उक्त स्थानको पुलसँगै क्षती पुगेका साविक अधिकारीचौरका सहिखोलाघाट र दोगाडीघाटका पुल पुननिर्माण भैसकेपनि स्थानीयहरुको आन्तरिक विवादको कारण बुढाथोकघाटको पुल भने निर्माण हुन नसकेको अध्यक्ष लक्ष्मण पुनमगरको भनाई छ । उक्त स्थानको पुल निर्माणकार्य खोलाको बहाब कम भएपछि कार्तिक—मंसिरबाट शुरु गरिने उनले बताए । पुल बगाएपछि स्थानीयहरुले काठे पुलको प्रयोग गर्दै आएका थिए । तर उक्त काठे पुल पनि अहिले बाढीले बगाइसकेको छ ।
तस्बिर- इन्द्रबहादुर घर्तिमगर, अधिकारीचौर, ढोनपा- ५ ।