गल्कोट २०७४ साउन ६ । यतिबेला नेपाली गीत संगीतको बजार तीजगीतले तताएको छ । नेपाली नारीहरुको महान चाडको रुपमा मानिने हरितालिका तीज नजिकिदै गर्दा बजारमा थुप्रै प्रकारका गीतहरु आएका छन । कति त आउदै पनि छन । अहिले धेरै जसो रेकर्डिङ स्टुडियोहरु गीत रेकर्ड गर्न समेत निकै व्यस्त रहेका छन । यसै सिलसिलामा रञ्जित परियार र सानु सुर्खालीको तीज गीती एल्वम बटौली बजारमा आएको छ ।
चर्चित गायक एवं संगीतकार बसन्त थापाको उत्कृष्ट शव्द अनि लय सृजना रहेको उक्त गीतमा लोकप्रिय गायक रञ्जित परियार र सानु सुर्खालीको सुमधुर आवाज रहेको छ । वि।सं २०७० सालमा जीन्दगी बैना छ गीती एल्वमबाट आफनो सांगितिक यात्रा प्रारम्भ गरेका गायक परियारले अहिले सम्म गरेको गरै छु, व्यापार होइन पिरती, चोली टिमिक्कै, रातो हेल्मेट, माछो माछो, तिम्रो जोडी मै त होला नि, राम्रो केटी पाएमा लगायतका धेरै गीतहरु श्रोता दर्शक माझ पस्किसकेका छन ।
गोरखा जिल्लाको पालुङटार नगरपालिका ४ मा जन्मेका गायक रञ्जित परियारले अहिले सम्म करिब ६० वटा गीतमा आफुले स्वर दिएको बताए । भावना म्यूजिक सोलुसन मार्फत बजारमा आएको उक्त गीत युट्युवमा सार्वजनिक गरेको २ हप्तामै चर्चा बटुल्न सफल भएको छ ।
शंकर विसीले निर्देशन, राजेश घिमिरेले छायाँङकन र नविन घर्ती मगरले सम्पादन गरेका छन भनें गीतको भिडियोमा निशा पुरी र विमल अधिकारीको मुख्य अभिनय रहेको छ । गीतमा बुटवलमा धेरै गर्मी हुने भन्दै पेटको रोगी रहेकी आफनी मायालुलाई धेरै दर नखान र ननाच्न आग्रह गरिएको विषयलाई झल्काईएको छ ।
प्रस्तुति:थम्मन थापा सन्देश,
गल्कोट ।