विजय राना, बागलुङ २०७४ साउन ९ । नागरिक सम्वाद केन्द्र बागलुङले सोमबार आयोजना गरेको बैठक तथा अन्तरक्रिया कार्यक्रमले जिल्लाका ४ स्थानीय तह बागलुङ, जैमिनी, गल्कोट र बुर्तिवाङ नगरपालिकामा स्थानीय शासन सम्बन्धी बेनेको विधेयकको बारेमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
स्थानीय तह सञ्चालन गर्नका लागि जनप्रतिनिधिमा अन्योलता देखिएको भन्दै स्पष्टताको लागि र विधेयक सम्बन्धी थप सुझावको लागि अन्तरक्रिया गर्ने निर्णय गरेको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा नागरिक सम्वाद केन्द्रका प्रमुख अधिवक्ता राम शर्माले स्थानीय शासन सम्बन्धी बनेको विधेयक र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेशको बारेमा सहजिकरण गरेका थिए ।
नागरिक सम्वाद केन्द्रकी सावित्री खड्काका अनुसार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, बागलुङ नगरपालिकाका मेयर जनक पौडेल, नेपाली कांग्रेसका सभापति दिपेन्द्र थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष टिकाराम सापकोटा, नागरिक समाजका संयोजक काजी गाऊँले श्रेष्ठलगायतले आफना विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पर्वत जिल्लाका केहि जनप्रतिनिधीहरुले जनताको सेवा सुविधालाई प्रभावकारी पार्नुको सट्टा बेसी कर संकलन गर्न र गाडी, मोटर साइकल लगायतका साधन किन्नमा केन्द्रित भएको उदाहरण प्रस्तुत गर्दै निर्वाचित जन प्रतिनिधिहरु जनता प्रति जवाफदेही बन्नु पर्ने प्रशंग उठेको थियो ।
यसैवीच
जैमिनी नगरपालिकालाई समृद्ध बनाउने लक्ष सहित जैमिनी नगर कार्यपालिकाको बैठक २ दिन देखि लगातार बसिरहेको छ ।
आइतबार देखि बसेको बैठकमा नगरको पूर्वाधार, आर्थिक, सामाजिक विकास, वित्तिय व्यवस्थापन लगायतका विषयमा छलफल भइरहेको कार्यकारी अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा वडा अध्यक्षहरुले आफ्नो ठाउँको पूर्वाधार विकास, खानेपानी, बाटोघाटो लगायतका आवश्यक विकास निर्माण र बजेटको योजनाहरु प्रस्तुत गरेका छन् । बैठक अझै केही दिन सम्म चल्ने बताईएको छ ।
गृहकार्य नपुगेको भन्दै अघिल्लो शुक्रबार बजेट बिनियोजन नगरि नगर परिषद सम्पन्न गरिएको थियो ।
परिषदले कार्यपालिका सम्पादन नियमावली, प्रमाणिकरण सम्बन्धी कार्यविधी र बजेट बिनियोजन बिधेयक मात्रै पारित गरिएको थियो ।