कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ साउन १४ । बडीगाड गाउँपालिका वडा नं. ५ ग्वालिचौरको न्वारमा डेरा गरी वस्दै आएकी जमुना कुमारी पुन, छोरा केशव पुनलाई केहि दिन पहिले खर्बाङ प्रहरीले बोलाएर लगेपछी कहिले फर्किएर आउछ भनेर बाटो हेरेर बसेकी छन् । केशवकी श्रीमती ३ छोरी र १ छोरापनि उनकै बाटो हेरेर दिन काटी रहेका छन् । केशवकै कमाईबाट ज्यान पाल्दै आएको जमुनाको ६ जनाको परिवार छोरालाई प्रहरीले लगेपछी विहान बेलुकी हातमुख जोडन पनि धौधौ भएको छ । केशवलाई प्रहरीले लगेको दिन देखि उनिहरुलाई कमाई खुवाउने कोहि छैन । छिमेकीहरुले दुईचार दिन केशव आउनेवेला सम्मको लागी भन्दै विहान बेलुकीको खानाको व्यवस्था मिलाइ दिएका छन् ।
केशवलाई प्रहरीले बोलाएर लगेको बास्तविक कारण परिवारलाई थाहा छैन, न यसको पत्तो त्यहाँका स्थानीय धेरैलाई छ । केशवलाई प्रहरीले लगेको कारण थाहा भयो भने बिहान बेलुकी हातमुख जोर्न समस्यामा परेको परिवारको कस्तो बिचल्ली होला कल्पना गर्न सकिन्न ।
गत असार २६ गते विहान खर्वाङ नजिकै बडीगाड खोलामा मृत अवस्थामा भेटिएकी गुल्मी पौँदी आराईकी गीता नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा केशवलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बागलुङमा राखेको छ । प्रहरी श्रोतका अनुसार केशव पुन अर्का अभियुक्त हरि बलामी मगरसहित गीता नेपालीको हत्यामा संलग्न रहेको स्वीकार गरेको अवस्था छ ।
हेर्दा झण्डै ६५ वर्ष भन्दा माथि देखिने जमुनालाई उमेर कति भयो भन्ने पनि थाहा छैन । राम्रो संग कान नसुन्ने जमुनाका एक मात्र छोरा हुन केशव पुन, उनले दिनभरी ज्याला मजदुरी गरेर आमा, श्रीमती र तीन लालाबाला गरी ५ जनाको ज्यान पाल्दै आएका थिए । पछिल्लो समय केशवले न्वार लव्दी खोलामा निर्माणाधीन मोटरबल पुलमा काम गर्दै आएका थिए ।
केशव पुनकी श्रीमती हुन् सुशिला, उनी आचार्यकी छोरी हुन तर उनी पूर्ण स्वस्थ छैनन् । मानसिक अपांगता भएकी सुशिला कलिला ३ छोरी, १ छोरा र सासू आमासंगै छन् । उनिहरुको आफ्नो घर छैन । त्यत्तिकै वेवारिसे देखेपछि स्थानियलाई दया लाग्यो र स्थानिय डिल वहादुर बलामीकी जेठी वुहारी मिना कुमारी वलामीले उनिहरुको खाली गोठ वस्नको लागी दिएकी छिन् । पहिले त भाडा पनि दिन्छु भनेका थिए पुन परिवारले तर तिनीहरुको दयनीय दैनिकी देखेर भाडा नलिने निर्णयमा पुगेको मिना कुमारी वलामिले वताउँछिन् । केशव पुनले दिनभर अरुको मेलामा काम गर्थे र केहि खानेकुरा लिएर जान्थे अनि ती लालाबाला र वुढी आमा अनि तिनै अपांगता भएकी श्रीमतीले खाना खान्थे । उनिहरु केशवलाई खर्वाङ प्रहरीले राखेको र केहि दिनमा फर्किने आशामा वसिरहेका छन् ।
ती वृद्ध जमुना कुमारी पुनको नागरिकता छैन, उनी कति वर्ष भईन भन्ने पनि थाहा छैन । कानपनि कमसुन्ने जमुनाको नागरिकता भएको भएपनि उनले एकल महिला तथा वृद्ध भत्ता पाउँथिन् । खास घर जलजला भएको लामो समयदेखि ग्वालीचौरको विभिन्न ठाउँमा वस्दै आएको वताउने उनिहरुको आफ्नै न कुनै जग्गा छ न कुनै साहारा । उनका श्रीमान् घाँस काट्न गएकोवेला लडेर गएको पनि धेरै भयो कुनै मिति थाहा छैन जमुना कुमारीलाई । माइती नदेखेको पनि धेरै वर्ष भयो सायद जाने वाटो पनि भुलि सकिन होला …. ।