सुमन सुनार, बुर्तिवाङ २०७४ साउन १५ । दलित समुदायका नागरिकको मृत्यु संस्कारमा रहेका कुरीति हटाउने घोसाखानी दलित सन्जालको निर्णय कार्यान्वयनमा ल्याईएकोे छ ।
ढोरपाटन नगरपालिका वडा नं. ३ साबिक बुर्तिवाङ गाविसको घोसामा रहेको स्वतन्त्र दलित सञ्जालको टोल भेलाले यस अघि दलित समुदायमा मृत्यु संस्कार (काजक्रिया)मा परम्परादेखी चलिआएका केहि नराम्रा चलन (कुरीति)हरु हटाउने निर्णय गर्नुका त्यहाँ स्थित बलजनी सुनारको मृत्युपछि पहिलोपटक कार्यान्वयनमा ल्याईएकोे सन्जालका अध्यक्ष नरबहादुर सुनारले बताएका छन् ।
करेन्ट लागेर मृत्यु भएकी सुनारको काजक्रियामा सञ्जालले गरेको निर्णयलाई पूर्ण पालना गरिएको छ ।
यस अघि दलित समुदायमा कसैको मृत्यु हुँदा शवमा पैसाको माला लगाउने, छोरी चेलीहरुले कपाडा ओढाउने, जाड रक्सी खाने, पशु बली चढाउने, खानामा मासु भात प्रयोग गर्ने जस्ता पुराना कुसंस्कार थिए । ती संस्कारलाई हटाउने निर्णय अनुसार पहिलोपटक सञ्जालको कुरिति हटाउने निर्णय अनुसारको विधि प्रयोगमा ल्याएको हो ।
सञ्जालले घोसामा रहेका दलित समुदायका सदस्यले सञ्जालले गरेको सो निर्णय पालना नगरेको पाइएमा रु १० हजार सम्मको जरिवाना गर्ने निर्णय गरिएको थियो । त्यस स्थानका दलित समुदायको घरपरिवारमा हुने काजक्रियामा दलित समुदायका प्रत्येक घरधुरीले सहयोग स्वरुप २ सय ५० रुपैयाँ उठाउने निर्णय अनुसार पहिलो पटकको काजक्रियामा ५७ हजार नगद सहयोग समेत जुटेको सञ्जालका अध्यक्ष नरबहादुर सुनारले बताए । घर परिवारका तर्फबाट सञ्जालको निर्णय राम्रो लागेको भन्दै समितिको कोषमा ४ हजार राखिएको पनि बताइएको छ ।