Sorry, that menu does not exist.
 

कृषि उपजको बजारीकरणमा सहकारीको सहयोग जरुरी- जिसी

बागलुङ, २०७४ साउन १५ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले जनताले उत्पादन गरेको कृषि उपज र पशुजन्य उत्पादनलाई बजारीकरणमा सहकारीहरुले सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

बागलुङको गलकोट नगरपालिका वडा नं. ११ रिघामा सञ्चालित अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न पाचौ वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै केसीले यस्तो बताएका हुन ।

सहकारीहरुले सदस्यहरुलाई वचत गर्न, उत्पादन गर्न प्रोत्साहन गरेका छन्, व्यवसायिक रुपमा उत्पादन गर्न र उत्पादित वस्तुलाई बजारीकरण गर्नका लागि सहकारीहरुले पूँजि, सिप र प्रविधिमा सहयोग गर्नु पर्नेमा उनको जोड थियो ।

राज्यले सहकारीलाई अर्थतन्त्रका तीन मध्ये एक मुख्य खम्बाका रुपमा लिए पनि सरकार सञ्चालन गर्नेहरुको प्राथमिकतामा सहकारी पर्न नसकेको उनले गुनासो गरेका थिए ।

सहकारी क्षेत्रले देशका कुना कुनामा जनतालाई वचत गर्ने बानीको विकास गर्नुका साथै सामाजिक सद्भाव कायम गर्न सहयोग गरेको दावी गर्दै केसीले सहकारी मार्फत विकास गर्न सकिन्छ भन्ने सोंच र चिन्तन नभएकै कारण देशमा विकासले गति लिन नसकेको बताए ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्बर बहादुर श्रीसले सहकारी मार्फत गाउँको विकासका लागि वडा कार्यालय निरन्तर लागि रहेको बताउदै सहकारी व्यवस्थापनका लागि बजेट विनियोजन गरेको जानकारी गराउदै कृषकहरुका उत्पादनलाई बजारीकरण गर्नका लागि योजना बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा रत्न लक्ष्मी माविका प्रधानाध्यापक तुलबहादुर श्रीस, संस्थाका सल्लाहकार श्याम विकले सहकारी मार्फत समाज रुपान्तरणमा गर्न सकिने विषयमा चर्चा गरेका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष देव विश्वकर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष देव विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दानबहादुर श्रीस र स्वागत प्रवन्धक सोनाम घर्तिले गर्नु भएको थियो ।

शेयर सदस्यहरुलाई कर्जा प्रवाह गरी कृषि उत्पादन वृद्धि गर्न तथा पशुपालन कार्यमा सहयोग गर्दै आएको संस्थामा ५ सय ८ जना शेयर सदस्य, ५३ लाख शेयर रकम, १ करोड १२ लाख वचत र १ करोड ३५ लाख लगानी रहेको छ ।

साधारणसभाले शेयर सदस्यहरुलाई कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्नुका साथै वडा कार्यालय र नगरपालिकासंग समन्वय गरेर जनताको आयस्तर माथि उठाउने कार्यक्रम तय गरेको सचिव दानबहादुर श्रीसले जानकारी दिनुभयो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply