Sorry, that menu does not exist.
 

बागलुङमा कम्तिमा दुइ निर्वाचन क्षेत्र कायम गर्न राजनीतिक दलहरुको आग्रह

काठमाडौं, २०७४ साउन २३ । संघीय संरचना अनुसार निर्वाचन क्षेत्र निर्धारण गर्दा बागलुङमा कम्तिमा दुइवटा निर्वाचन क्षेत्र कायम गर्न बागलुङका राजनीतिक दलहरुले आग्रह गरेका छन् ।

जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारावालाहरुको सोमबार काठमाडौंमा सम्पन्न सर्वदलीय, सर्वपक्षीय वैठकले जनसंख्या, भुगोल, प्रशासनिक विकटता, सामुदायिक सांस्कृतिक विविधतालाई मध्यनजर गरी कम्तीमा २ वटा निर्वाचन क्षेत्र निर्धारण गर्न माग गर्ने निर्णय गरेको हो ।

२०६८ सालको जनगणना अनुसार पौने ३ लाख जनसंख्या भएको, २०१५ सालदेखि नै २ भन्दा बढी निर्वाचन क्षेत्र कायम हुदै आएको, भौगोलिक रुपमा विकट तथा प्रशासनिक रुपमा अपायक परेको बागलुङमा दुई निर्वाचन क्षेत्र कायम हुनु पर्ने वैठकको निष्कर्ष रहेको छ ।

वैठकमा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बागलुङबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु, पूर्व सभासदहरु, बागलुङ नगरपालिकाका प्रमुख लगायत जनप्रतिनिधिहरु र विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बैठक पछि नेपाली कांग्रेसका सभापति दिपेन्द्रबहादुर थापा, नेकपा एमालेका अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुरेन्द्र खड्का र नयाँ शक्ति पार्टी नेपालका प्रदेश नं. ४ का संयोजक बलावती शर्माद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा जिल्लाको समग्र अवस्थालाई मध्यनजर गरी २ क्षेत्र कायम गर्न र अन्यथा भएमा दुर्भाग्य हुने जनाइएको छ ।

२०१५ सालमा देशभर १०९ निर्वाचन क्षेत्र कायम हुदा बागलुङमा दुइ निर्वाचन क्षेत्र रहेको, २०४८ मा २०५ निर्वाचन क्षेत्र हुदा ३ निर्वाचन क्षेत्र, २०६४ मा २४० निर्वाचन क्षेत्र हुदा पनि ३ निर्वाचन क्षेत्र रहेको बागलुङ सबै हिसावले २ निर्वाचन क्षेत्रका लागि उपयुक्त रहेको भन्दै सर्वदलीय सर्वपक्षीय वैठकले २ निर्वाच क्षेत्र कायम गर्न माग गरेको हो ।
सर्वदलीय, सर्वपक्षीय वैठक पछि टोलीले सिंहदरवारस्थित निर्वाचन क्षेत्र निर्धारण आयोगमा गएर ध्यानाकर्षण गराएको छ ।
राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरु, बागलुङबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु, राजनीतिक दलका नेता कार्यकर्ताहरुको एक टोलीले निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य सचिव वेगेन्द्रराज शर्मा पौडेललाई सर्वदलीय, सवपक्षीय वैठक र जिल्ला समन्वय समितिको निर्णय बारे ध्यानाकर्षण पत्र बुझाएको नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले बताए ।

यस्तै जिल्ला समन्व समिति बागलुङको पहिलो वैठकले पनि बागलुङ जिल्लामा २ वटा निर्वाचन क्षेत्र कायम हुनु पर्ने माग गरेको छ ।
जिल्ला समन्वय समितिका नवनिर्वाचित अध्यक्ष राजेन्द्र ढुंगानाको अध्यक्षतामा आइतवार बसेको वैठकले १ हजार ७ सय ८४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको, पौने ३ लाख जनसंख्या रहेको, ऐतिहासिक रुपमा निरन्तर ३ निर्वाचन क्षेत्र कायम हुदै आएको, भौगोलिक अवस्था अत्यन्तै जटिल र विविधतायुक्त रहेको, वैदेशिक तथा आन्तरिक रोजगारी लगायतका कारणले राष्ट्रिय जनगणनामा करिब १ लाख जनसंख्या आफ्नो विवरण उल्लेख गर्नबाट वञ्चित भएको लगायतका कारण दर्शाउदै अब बन्ने संरचनामा २ वटा निर्वाचन क्षेत्र कायम गर्न माग गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply