१४ जना कर्मचारीको दरवन्दी भएकोमा ७ जनाले काम चलाउँदै
सुमन सुनार, बुर्तिवाङ २०७४ साउन २४ । मध्य पहाडी लोकमार्यका १० स्थानमा नयाँ शहरी आयोजना मार्फत नयाँ शहर निर्माण गरि १ लाख जनसँख्या बसाल्ने दीर्घकालीन योजनाका साथ सञ्चालित नयाँ शहरी आयोजना कर्मचारी अभावकै कारण समस्यामा परेको छ ।
२० वर्षमा १० नमूना शहर निर्माण गर्ने लक्ष्य सहितको नयाँ शहरी आयोजना बुर्तिबाङमा १४ जना कर्मचारी दरवन्दी रहेकोमा हाल ७ जनाले काम चलाइरहेको आयोजना प्रमुख प्रविण कुमार अधिकारीले बताए ।
आयोजनामा कर्मचारी अभावकै कारण यहाँ हुने कामहरु समेत सुस्त गतिमा हुने एक कारण भएको समेत आयोजना प्रमुख अधिकारीको भनाई छ ।
शहरी विकास आयोजनामा आयोजना प्रमुख १ जना, उपप्रमुख ईञ्जिनियर १ जना करार ईञ्जिनियर १ जना सिनियर ओभरसियर २ जना, सव ओभर सियर २ जना, लेखापाल १ जना, प्रशासक १ जना, सर्बेक्षक करार १ जना, कम्प्युटर अप्रेटर करार १ जना, कार्यालय सहयोगी २ जना, र सामुदायिक परिचालक १ जना गरि १४ जना हुनु पर्नेमा अहिले आयोजना प्रमुख १ जना, करार ईञ्जिनियर १ जना, सामुदायिक परिचालक १ जना, लेखापाल १ जना कम्प्युटर अप्रेटर १ जना तथा कार्यालय सहयोगी २ गरि ७ जनामात्र कर्मचारी कार्यरत रहेको नयाँ शहरी आयोजनाका प्रमुख अधिकारीले बताए ।
देशै भरका आयोजना कार्यालयमा दरवन्दी अनुसारका कर्मचारी अभाव भएको नयाँ शहरी आयोजनाका निर्देशक पराक कायस्थको भनाई छ । उनका अनुसार आगामी साउन मसान्तसम्म थप कर्मचारी दरवन्दी अनुसार व्यवस्था हुने छ ।
उता आयोजनाका कामहरु कही कर्मचारी अभावमै सुस्त गतिमा भएका तथा कतै पछिल्लो समय शहरी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबीचको मतान्तरका कारण समस्याहरु उत्पन्न भएको आयोजनाका केन्द्रिय निर्देशक कायस्थले बताए ।
शहरी विकास मन्त्रालयले स्थानीय निकायमा जनप्रतिनिधि नभएका अवस्थामा शहरी विकास ऐन २०५५ अनुसार नगर विकास समितिको अवधारणा ल्याएर नयाँ शहरी आयोजना सञ्चालन गरिरहेको थियो । पछिल्लो समयमा स्थानीय निकायमा जनप्रतिनिधि आइसकेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजपत्रमै सूचना जारि गरि नगर विकास समिति अन्तरगतको नयाँ शहरी आयोजना असार मसान्त भित्रमा नगरपालिकामा हस्तान्तरण गर्न निर्देशन समेत दिएको अवस्था छ ।
तत्काल मन्त्री परिषदको बैठक र संसदमा पूरानो ऐनलाई खारेज गरि नगरपालिकाको मातहतमा जिम्मेवारी सार्ने गरि नयाँ ऐन आएपछि हालको नगर विकास समिति स्वतः निस्कृय हुने आयोजनाका निर्देशक कायस्थले बताए ।