बिमल खड्का, बागलुङ २०७४ भदौ १ । मध्य पहाडी लोकमार्ग अन्तर्गत बागलुङ-बुर्तिबाङ सडक खण्डको बडीगाड गाउपालिका ग्वालिचौर न्वार लब्दीखोलाको मोटरेबल पुल निर्माण सम्पन्न भै नसक्दै सवारी साधनहरु वारपारगर्न थालेका छन् । मध्य वर्षातको समय भएको र लब्दीखोलामा बाढी आएकोले अर्को बैकल्पिक उपाय नभएपछी पुलबाट सवारी साधन चलाउन थालेको सवारी चालक र स्थानीयले बताएका छन् । निर्माणाधीन पुलको न्वार तिरको खण्डमा पुल ढलान गर्ने काम बाँकी रहँदै सवारी साधनहरु सन्चालनमा आएपछी पुल कमजोर हुने स्थानीयले आशंका व्यक्त गरेका छन् ।
‘खोलामा गाडी हाल्न पर्ने समस्याबाट पार त मिल्यो, तर पुल कच्ची हुने संभावना भने रह्यो’ स्थानीयले बताए । मध्य पहाडी लोकमार्गको मुख्य अबरोध बनेको लब्दीखोलाको निर्माणाधीन मोटरेबल पुल निर्माण सम्पन्न भएपछी यात्रुहरुको दु:ख हरण हुने विश्वासमा रहेकाहरु, पुल सम्पन्न नहुँदै ठूला साना सावारी साधनहरु सन्चालनमा ल्याउदा कुनै अकल्पनीय घटना हुने होकि भन्ने सन्त्रासमा देखिन्छन् । पुलको प्राविधिक जाँच गरेपछी मात्र सवारी साधन सन्चालनमा ल्याउनुपर्ने स्थानीयको माग रहेको छ ।
बुर्तिबाङदेखि बागलुङ,पोखरा, काठमाडौ, गुल्मी बुटवल र त्यहाँबाट बुर्तिवाङलाई छुट्ने सवारी साधनहरु वर्षातमा लब्दीखोलामा आएर खोला पारी रहेको अर्को सवारी साधन परिवर्तन गरी गन्तव्यमा जानु पर्दा यात्रुहरुलाई निकै सास्ती खेप्नु परेको छ ।
पुलबाट सिधै सवारी साधनहरु वारपार गरेपछी झन्झट र सास्तीबाट यात्रुहरुले मुक्ति पाएको अनुभूति त गरे तर प्राविधिकले निरीक्षण गरेर सन्चालनको अनुमति लिएरमात्र पुलबाट सवारी साधनहरु वारपार गर्नु पर्छ भन्ने उनिहरुको मान्यता कायमै छ ।
मध्यपहाडी लोकमार्गमा रहेका नरेठाँटी गौदी खोला र हटिया दरमखोलाको मोटरेबल पुलपनि समयमा निर्माण सम्पन्न नहुनाले यात्रुहरुले वर्षा याममा पाउन सम्मकै दुख पाएका थिए ।
तस्वीर- सन्तोष पोखरेल, ग्लालिचौर ।