थम्मन थापा सन्देश, गल्कोट २०७४ भदौ २ । नाच्ने डाँडा संरक्षण समाज मल्मले तीज कार्यक्रम नजिकिदै गर्दा तयारीलाई तिब्र पारेको छ । समाजको सम्पन्न बैठकले कार्यक्रमलाई शान्दार रुपमा सफल पार्न प्रमुख अतिथिको रुपमा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरलाई आमन्त्रण गर्ने भएको छ । त्यस्तै विभिन्न शिर्षकमा महिलालाई गर्ने अभिनन्दनलाई यो पटक पनि निरन्तरता दिने निर्णय गरेको छ ।
वृद्ध महिलामा गल्कोट नगरपालिका ७ आगाँखेतकी ९० वर्षिय लिला थापा, आगन्तुक चेलीमा गल्कोट नगरपालिका ६ चरौंदीकी ७४ वर्षिय जयकली बस्नेत र सक्रिय महिला समाजसेवीमा गलकोट नगरपालिका ७ भल्साङकी चन्द्रा कुमारी थापालाई अभिनन्दन गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले भदौ ४ गतेबाट ६ गते सम्म कार्यक्रम स्थलको सरसफाई गर्ने, कार्यक्रम तयारी सम्बन्धि समिक्षा, व्यवस्थापन लगायतका विषयमा समेत छलफल गरेको छ ।
बैठकमा सबै उपसमिति संयोजकहरुले आ(आफनो कामको जिम्मेबारीको रिपोर्टिङ समेत गरिएको छ । बैठक नाच्ने डाँडा संरक्षण समाजका अध्यक्ष कोपीला खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।