सुमन सुनार, बुर्तिवाङ २०७४ भदौ ९ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले जनताको सुख दुःख संग सहकार्य गर्नु स्थानिय जनप्रतिनिधीको कर्तव्य भएको बताएका छन् ।
आज निसीखोला गाउपालिका वडा नं ४ मा बृहस्पति युवा क्लबले हरितालिका तीज तथा क्लबको तेस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आज उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले सो अवसरमा समाज रुपान्तरणका लागी नागरिकलाई शिक्षित बनाउन सके मात्र समाजको रुपान्तरण सम्भव हुन सक्ने बताए ।
कार्यक्रमकै अवसरमा नगर प्रमुख नेपालीले निसीमा साउन २० गतेको बाढि पहिरोमा परि मृतु भएका ५ जनाको परिवार तथा आफन्तजनका निम्ती राहतस्वरुप नगद रु २५ हजार सहयोग प्रदान गरेका थिए । यस्तै नगर प्रमुख नेपालीबाट क्लवको भवनको शिलन्यास गर्दै भवन निर्माणार्थ १ सय बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरेका छन् ।
कार्यक्रमहरु बुधबार देखी सुरु भए पनि कार्यक्रमको विधिवत रुपमा उद्घाटन भने आज गरिएको क्लवले जनाएको छ ।
त्यस्तै कार्यक्रममा खुंगा ढोरपाटन सहकारीका अध्यक्ष्य सहविन अर्गेजाको विशिष्ट आतिथ्यता रहेको थियो । विशिष्ट अतिथि अग्रेजाले युवाहरुलाई सामाजिक गतिविधिमा क्रियाशिल बनाउन क्लवले युवालाई संगठित गराएको भन्दै धन्यबाद ज्ञापन गर्दै क्लवको भवन निर्माणका लागी रु २५ हजार सहयोग दिएका छन् ।
कार्यक्रममा समाजसेवी ददिराम शर्मा, सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जका अध्यक्ष लोकेन्द्र सुनार, क्लवका मानार्थ सदस्य राम प्रसाद आचार्य लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रमको अवसरमा क्लवले आयोजना गरेको शैक्षिक सम्मान कार्यक्रम अन्तर्गत देविस्थान माध्यमिक विद्यालय, रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय र ज्ञानेद्र माध्यमिक विद्यालयका ३ जना उत्कृष्ट दलित विद्यार्थीलाई सम्मान गरिएको छ ।
यस्तै आजै बयोबृद्ध नागरिक सम्मान, एकल महिला सम्मान, जननिर्वाचित प्रतिनिधि सम्मान, स्थानिय प्रतिभा सम्मान, दैविप्रकोप उद्धार राहत कोष वितरण कार्यक्रम समेत गरिएको क्लवले जनाएको छ ।
क्लवका सचिव मिलन हमालको स्वागत मन्तब्य रहेको उद्घाटन कार्यक्रमको सञ्चालन सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जका स्टेशन म्यानेजर राम सुवेदीले गर्नुभएको थियो ।
आयोजित अन्य प्रतियोगितात्मक कार्यक्रमहरु भोली पनि जारी रहने क्लवले जनाएको छ ।
कार्यक्रम क्लवका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा भएको थियो ।