पर्वत, २०७४ भदौ १६ । सहकारीहरुको प्रवद्र्धन गर्ने उदेश्यका साथ स्थापित देशभरका सहकारीहरुको एक मात्र राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा कुश्मामा स्थापना गर्न पर्वतका सहकारीकर्मीहरुले माग गरेका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले शुक्रवार पर्वतको कुश्मामा आयोजना गरेको सहकारी संघ संस्थाहरुको प्रवद्र्धनमा राष्ट्रिय सहकारी बैंकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले शाखा स्थापनाको माग गरेका हुन् ।
सहकारीहरुमा रहेको तरलताको रकम अन्य बैंक तथा वित्तीय संस्थामा राख्दा व्याज कम पाइने तथा सहकारीहरुलाई आवश्यक परेको समयमा अन्य बैक तथा वित्तीय संस्थाहरुले सहकारीलाई कर्जा नदिने भएकाले सहकारीहरु समस्यामा रहेको सहभागिहरुको भनाइ थियो । सहकारी बैंकले ब्याज दिनुका साथै आवश्यक परेको समयमा कर्जा समेत दिने र तालिम लगायत अन्य कार्यक्रममा समेत सहयोग गर्ने भएकाले तत्काल बैंकको शाखा कुश्मामा स्थापना गर्न उनीहरुले माग गरेका थिए ।
पर्वत जिल्लामा ३ सय भन्द बढी सहकारीहरु क्रियाशिल छन्, ति सबैको रकम सहकारी बैंकमा परिचालन गर्न सके संस्था र सदस्यहरुको आयआर्जनमा वृद्धि गर्न सकिने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले सदस्य सहकारी संघ संस्थाहरुको माग बमोजिम शाखा खोल्न सकिने बताए । उनले शाखा सञ्चालनका लागि जिल्लाका १ सय भन्दा बढी सहकारी संस्थाहरु बैंकको सदस्य बन्नु पर्ने प्रावधान रहेको भन्दै सहकारीहकरुको माग अनुसार नै बैंक अगाडि बढ्ने बताए । सहकारीहरुको प्रवद्र्धनका लागि बैंक सदैव सहयोगी रहदै भन्दै प्रवन्ध सञ्चालक उप्रेतीले सहकारीका सदस्यले सबै कारोबार सहकारी संस्था र संस्थाले सबै कारोबार सहकारी बैंकमा गर्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य नन्दलाल सुवेदी, पर्वत उद्योग वाणिज्य संघका कोषाध्यक्ष मानसिंह भण्डारी, मल्लाज बहुउद्देश्यीय सहकारी संस्था जलजला पर्वतका अध्यक्ष लालबहादुर अधिकारी, बलेवा सामुदायिक सहकारी बागलुङका अध्यक्ष उमानाथ शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य बैंकका कर्मचारी वुद्धराम बल र सञ्चालन निमित्त शाखा प्रमुख सविना श्रेष्ठले गरेका थिए ।
यसैबीच बैंकको शाखा स्थापनाका लागि आवश्यक तयारी गर्नका लागि महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका लेखा संयोजक यम शर्माको संयोजकत्वमा ७ सदस्यीय समन्वय उपसमिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा धनेश्वरी कृषि सहकारीका नवराज गिरी, नमुना व्यवसायिक कृषि सहकारीका खड्गप्रसाद खनाल, कालीगण्डकी वचत तथा ऋण सहकारी संस्थाका गणेश लामिछाने, डिमुवा वचत तथा ऋण सहकारी संस्थाका रुद्रप्रसाद शर्मा, नारी बचत तथा ऋण सहकारी संस्थाका तुप्लाकुमारी शाक्य, थापाठाना महिला वचत तथा ऋण सहकारी संस्थाका कमला सापकोटा रहेका छन् । समन्वय समितिले बैंकको सदस्य विस्तारसंगै पर्वतको सहकारी अभियानलाई अगाडि बढाउन सबैसंग समन्वय गरेर अगाडि बढ्ने संयोजक यम शर्माले बताए ।