Sorry, that menu does not exist.
 

कर्मचारी अभावले नगर र गाउपालिकाकाको काममा ढिलाई, योजनाहरु प्रभावित हुने संभावना !

राम सुवेदी, बागलुङ २०७४ भदौ २० । स्थानीय तहको निर्वाचन भएको ४ महिना वितिसक्दा समेत सरकारले स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापन गर्न नसक्दा विकास योजना प्रभावित हुने देखिएको छ ।

नगरपालिकामा ११ जना र गाउँपालिकामा ९ जना कर्मचारी तोक्ने भनिएपनि, आवश्यकता अनुसारको कर्मचारी अझै स्थानीय तहमा आइपुगेका छैनन् । सरकारले नै कर्मचारी व्यवस्थापनका सन्दर्भमा ठोस निर्णय गर्न सकिरहेको छैन । कामचलाउ गतिविधिका लागि कार्याकारी अधिकृत र लेखापाल प्रायः सबै गाउँपालिकामा तोकिएको छ तर प्राविधिक नतोकिएका स्थानीय तहमा साउन देखि सुरु भएको प्रथम चौमासिकमा गाउँ तथा नगर परिषदबाट विभिन्न योजनामा खर्च गरिने वजेट कसरी गर्ने भन्ने समस्या आएको छ ।

ढोरपाटन नगरपालिकामा ११ जना कर्मचारी हुनुपर्नेमा अहिले ४ जनाले काम चलिरहेको छ । जहाँ १ जना कार्यकारी अधिकृत, १ जना लेखापाल, १ जना सुब्बा र १ जना प्राविधिक रहेका छन् । ९ वटा वडा रहेको यस नगरपालिकामा २ जना सचिवले काम चलाइरहेका छन् । नगरपालिकामा अझै प्रशासकीय अधिकृत १ जना, सव ईञ्जीनियर १ जना कम्प्युटर अपरेटर १ जना र कार्यालय सहयोगी २ जनाको दरवन्दी खाली छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा सम्म चाहे अनुसारको काम भने हुन नसक्ने नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले बताए । तैपनि प्रथम चौमासिकमा गर्नुपर्ने कामहरुको १ जना प्राविधिक मार्फत स्टमेट भइरहेको र तत्काल तीव्र गतिमा काम सुरु गरिने योजना बनाइएको नगरपालिकाका कार्यकारी अधिकृत आचार्यको भनाई छ । नगरपालिकामा प्रथम चौमासिकको ९ करोड ३२ लाखको वजेट खर्च गर्ने अख्तियारी आएको उनले बताए ।

यस्तै गल्कोट नगरपालिकाको अवस्थापनि यस्तै छ । दरवन्दी अनुसारका कर्मचारी नभएकोले विभिन्न कठिनाई झेल्नु परेको छ । नगरपालिका कार्यालयमा १२ जना कर्मचारीको दरवन्दी रहेपनि अहिले ३ जना मात्र कर्मचारी रहेको कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए । कृषि, पशु, कार्यालबाट खटिएका कर्मचारीहरुपनि हाजिर हुन नआएको अवस्था छ, कार्र्यकारी अधिकृत सुवेदीले भने ११ वडा रहेको गल्कोट नगरपालिकामा जम्मा ६ जना सचिवहरुले काम चलाई रहेका छन् । अहिले प्राविधिक कर्मचारीको अभावका कारण ११ वडाका ३ सय भन्दा बढी योजनाहरुको स्टमेट तयार पार्न समस्या रहेको छ । एकजना सबइन्जियरमात्र भएकाले उनलाई भ्याईनभ्याई भएको पनि सुवेदीले जानकारी दिए ।

उता साबिक ९ गाविसहरु समावेश गरी १० वडामा विभाजित जैमिनी नगरपालिकामा पनि कर्मचारीको अभाव रहेको कार्यकारी अधिकृत विष्णुप्रसाद सुवेदीले बताए ।

प्राविधिक कर्मचारीको रुपमा एकजना सबईन्जिनियर मात्र रहेकाले नगरपालिकाका १० वडाका योजनाहरुको स्टमेट तयार पार्न समस्या रहेको सुवेदीको भनाई छ ।
नगरपालिकाका १० वडाहरुमा अहिले ७ जना सचिवहरुबाट कार्य सन्चालन भैरहेको जानकारी दिँदै कार्यकारी अधिकृत सुवेदीले सिनियर ईन्जिनियरको माग भैरहेको बताउदै कर्मचारीहरुको अभावका बाबजुत पन नगरपालिकाको निर्माण कार्यहरु सम्पन्न गरिने प्रतिवद्धता जनाए ।

बागलुङ जिल्लाको सुदूर पश्चिममा रहेको निसीखोला गाउँपालिकामा ९ जना कर्मचारी हुनेमा अहिले ३ जना कर्मचारीको भरमा गाउँपालिकाको काम चलेको छ । उक्त गाउँपालिकामा प्राविधिक नभएका कारण विकास योजना प्रभावित हुनसक्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।

पौडेलले अहिले कर्मचारी व्यवस्थापनका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन लगायतका जिल्ला स्थित सरकारी कार्यालयमा परामर्श गरिरहेको बताएका छन् । आवश्यक कर्मचारी सरकारले नै नतोकेको र जिल्लामा समेत अहिले कर्मचारी नभएका कारण समस्या आएको अध्यक्ष पौडेलको भनाई छ । निसीखोला गाउँपालिकामा पनि अहिले २ जना सचिवले काम चलाइरहेका छन् ।

निसीखोला गाउँपालिककाले प्रथम चौमासिकमा ४ करोड बढीको विकास निर्माण गर्नेयोजना बनाएको छ । प्राविधिक नै नभएपछि कसरी विकास योजना अघि बढाउने भन्नेमा नै समस्या रहेको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।

यस्तै तमानखोला गाउँपालिकामा ९ जना कर्मचारी हुनुपर्नेका अहिले ३ जनामात्र कर्मचारी रहेको त्यस गाउँपालिकाका लेखापाल यामबहादुर थापाले बताए । एक जना कार्यकारी अधिकृत र १ जना सहयोगीको भरमा गाउँपालिका चलेको उनको भनाई छ । उक्त गाउँपालिकामा प्राविधिक नभएकाकारण प्रथम चौमासिकको बजेट कसरी खर्च गर्ने भन्नै समस्या देखिएको छ ।

तमानखोला गाउँपालिकामा प्रथम चौमासिकका लागि करिव ६ करोडको हाराहारीमा वजेट खर्च गर्नुपर्ने हुन्छ । गाउँपालिकाको परिषदबाट विभिन्न योजनामा खर्च गरिने योजनाका बजेट स्टेमेट गर्ने प्राविधिक नभएपछि त्यस गाउँपालिकामा प्रथम चौमासिकको विकास योजना प्रभावित हुनसक्ने देखिएको छ । ६ वडा रहेको तमानखोला गाउँपालिकामा २ जना सचिवले काम चलाएका छन् । जस्ले स्थानीय जनताका पञ्जीकरण सम्बन्धी कामहरु प्रभावित भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply