प्रशान्त घर्तिमगर, बागलुङ २०७४ भदौ २५ । साउन महिना यता बागलुङमा ९ जनाले आत्महत्या गरेका छन् । नयाँ आर्थिक बर्ष शुरु भएयता २ महिनाको अन्तरालमा ७ महिला र २ पुरुष गरी ९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।
आत्महत्या गरेका ९ जनामध्ये पश्चिम बागलुङमा मात्र ३ जनाले आत्महत्या गरेका छन् । साउन महिना यता ३ जना महिलाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रमुख कृष्णा रानामगरले बताए । घरेलु हिंसा र अनैतिक सम्बन्धको कारण आत्महत्या गर्नेहरुमा धेरैजसो महिलाहरुको संख्या रहेको इलाका प्रहरी प्रमुख रानामगरको भनाई छ । कतिपय किशोरीहरु असफल प्रेम सम्बन्धको कारण पनि डिप्रेशनमा परी आत्महत्या गर्ने गरेको पाइएको छ ।
पछिल्लो समयमा आत्महत्याबाट ज्यान गुमाउनेहरुको संख्या गैर कानुनी कृयाकलापबाट ज्यान गुमाउनेहरुको संख्या भन्दा पनि बढि रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तथ्याङक अनुसार ४० सेकेण्डमा एक व्यक्तिले आत्महत्या गर्ने गरेका छन् ।
आत्महत्यालाई रोकथाम गर्न परिवार, आफन्त, छिमेकी, साथी लगायतले कसैको व्यवहार परिवर्तन भए ख्याल गर्नुपर्ने चिकित्सकहरु बताउछन् ।
यस्तै चिन्ता, तनाव, एङजाइटी, डिप्रेशन, फोबिया लगायतका धेरै कुराले व्यक्तिलाई आत्महत्याको तहसम्म पु¥याउने भएकाले समय मै ख्याल गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । यस्ता समस्या देखिए मनोचिकित्सक, मनोपरामर्शकर्ता वा मनोविमर्शकताको गए ठूलो दुर्घटना हुनबाट बच्न सकिन्छ ।