बागलुङ, २०७४ असोज २ । ३७ वर्षदेखि निरन्तर रुपमा विद्यालयको प्राचार्यका रुपमा रहेर शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै भीमसेन माध्यमिक विद्यालय विहुँ बागलुङले सेवा निवृत्त प्राचार्य टिकाराम सापकोटालाईसोमबार भव्य कार्यक्रमबीच सम्मान तथा विदाई गरेको छ ।
२०३७ सालमा स्थापना भएको भीमसेन माविमा स्थापनाकालदेखि प्राचार्य रहेर ३७ वर्षसम्म सेवा गर्नु भएका सापकोटाले विद्यालय क्षेत्रका साविकका ८ गाविसको शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
एउटै पदमा निरन्तर पौने चार दशकसम्म काम गरेर विद्यालयको भौतिक, शैक्षिक लगायत रचनात्मक र सिर्जनात्मक क्षेत्रमा सापकोटाले गरेको योगदानको कदर गर्दै विद्यालयले सम्मान सहित विदाई गरेको हो ।
विद्यालयले आयोजना गरेको अभिभावक भेला, शुभकामना आदान प्रदान तथा विदाई कार्यक्रममा बोल्दै सेवा निवृत प्राचार्य टिकाराम सापकोटाले समाजका हरेक क्षेत्रको सहयोगले आफुले ३७ वर्षसम्म भीमसेन माविमा रहेर शिक्षा क्षेत्रको विकासमा योगदान गर्न पाएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
शिक्षाको विकासका लागि विद्यार्थीहरु रचनात्मक हुन, अभिभावकहरु जगरुक हुन, शिक्षकहरु पेशाप्रति इमान्दार हुन तथा विद्यालय व्यवस्थापन समिति सक्रिय हुनु पर्नेमा जोड दिदै निवर्तमान प्राचार्य सापकोटाले समाज रुपान्तरणको जग शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले काठेखोला गाउँपालिकाको एउटा विद्यालयमा रहेर जिल्लाकै शैक्षिक उन्नतीका लागि सापकोटाले गरेको योगदान उल्लेखनीय रहेको बताए । उनले सापकोटाबाट शिक्षा लिएका विद्यार्थीहरु आज देशका विभिन्न क्षेत्रको अगुवाई गर्ने असल नागरिकका रुपमा स्थापित भएको चर्चा गर्दै आफुले पनि माध्यमिक तहमा सापकोटाबाट अग्रेजी विषयमा अध्यययन गर्ने मौका मिलेको स्मरण गरे ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले शैक्षिक जगतमा सापकोटाले गरेको योगदानको उच्च प्रशंसा गर्दै गाउँपालिकाको शैक्षिक विकासमा उहाँसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक प्रकाश वझा, विद्यालयका संस्थापक जब्बरबहादुर लामिछाने, पूर्व विद्यार्थीहरुका तर्फबाट नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जिसी, भीमसेन क्याम्पस व्यस्थापन समितिका अध्यक्ष भीमबहादुर खड्का, सदस्य गंगाप्रसाद कंडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टिकाबहादुर थापा, काठेखोला गाउँपालिका वडा नंं १ का अध्यक्ष खड्क थापा, अमर माविका प्रधानाध्यापक भिष्म कंडेल, विद्यालयका पूर्व शिक्षकहरुको तर्फबाट विजयराज पन्त, संस्थापकहरुका परिवारको तर्फबाट स्वर्गीय बलबहादुर कार्कीका छोरा डिलबहादुर कार्की, नेपाल शिक्षक संघका पूर्व सचिव भवानीप्रसाद कंडेल, विद्यार्थी रविना कंडेल लगायतले टिकाराम सापकोटाले शैक्षिक जगतमा गरेको योगदान स्मरणीय रहेको बताएका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता, शिक्षक बालकृष्ण कंडेलको स्वागत र शिक्षक नारायणप्रसाद कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
विद्यालयको अवस्थाका बारेमा प्रधानाध्यापक रघुराज कंडेलले जानकारी गराएका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक कंडेललाई स्वागत गरिएको थियो ।
कार्यक्रमका विद्यार्थीहरुले विदाई गीत लगायत सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।