झरना कँडेल, बुर्तिवाङ २०७४ असोज ११ । नेपालीहरुको महान चाड विजया दशमी र शुभदीपावली नजिकिदै गर्दा बुर्तिवाङ बजारमा किनमेल गर्नेहरुको भीड निकै बढेको छ ।
बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र रहेको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजार, निसीभूजी क्षेत्रका लागि मात्र नभएर छिमेकी जिल्लाहरु रुकुम, प्यूठान, गुल्मीका केहि गाउपालिकाका वासिन्दाहरुको व्यापारिक केन्द्र रहि आएको छ । बुर्तिवाङ रुकुम सडक सन्जालमा जोडिएपछी बुर्तिवाङ बजारको व्यापार फस्टाउने संभावना बढेको व्यापारीहरुको बुझाई रहेको छ ।
निसीभूजी क्षेत्रबाट ठुलो संख्यामा युवाहरु बैदेशिक रोजगारीमा गएका हुनाले उनका परिवारले चाडबाडका अवसरमा निकै फुर्मास गरी सरसामान किन्ने गरेको स्थानीय व्यापारीहरुले बताउछन् ।
ढोरपाटन उपत्यका जिल्लाकै रमणीय पर्यटकीय स्थल भएकाले यसको अवलोकन भ्रमणमा आउने आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्या बढ्दै गएपछी वुर्तिवाङमा चहल पहल बढेको छ ।
बुर्तिवाङ बजारमा बैंकिङ कारोवार राम्रो मानिन्छ । बुर्तिवाङ बजारमा बैँकहरुपनि झण्डै आधा दर्जन रहेका छन् । रेमिटेन्सका कारण ग्रामिण जनताहरुको आर्थिक अवस्था सुधारिदै गएको स्थानीयको बुझाई छ ।
पछिल्लो समय आएर बुतिवाङका रैथाने व्यापारीहरु विस्थापित बन्दै गएपछी अर्घाखाँची र गुल्मीका व्यापारीहरुको संख्या बढ्दै गएको छ ।