गल्कोट २०७४ असोज १५ । असोज १८ अर्थात आजको तीन दिन पछी गल्कोटको मजुवाफाँटमा सुरु हुने प्रथम गल्कोट साँस्कृतिक महोत्सवको तयारी तीब्र पारिएको छ । गल्कोट क्षेत्रको प्रचार प्रसार, प्रबद्र्धन, सस्कृति संरक्षण, पर्यटनका लागि असोज १८ गतेदेखि २८ गतेसम्म हुने महोत्सवको तीब्रताका साथ तयारी भईरहेको आयोजक संस्था हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्टका सचिव मोहन केसीले ईबागलुङलाई बताए ।
गल्कोट क्षेत्रको मौलिकता एवं सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको स्थानीय कार्यक्रम संयोजक हर्क पाण्डेले जानकारी दिँदै महोत्सवमा खुल्ला भलिबल प्रतियोगिता र डान्स आईडल मुख्य आकर्षण रहने पाण्डेले बताए ।
महोत्सवलाई हरेक दृष्टिकोणले भव्य तथा गल्कोटलाई माया गर्ने देश–विदेश जहाँसुकै रहेका सबैको साझा महोत्सव बनाउने प्रयत्न रहेको आयोजकको भनाई रहेको छ ।
१ सय स्टल रहने महोत्सवमा गल्कोटमा अवस्थित कृषि, मत्स्य, घरेलु उद्योग तथा कृषि उत्पादन, पशुपंक्षी, ठूला व्यवसायिक औद्योगिक प्रतिष्ठानहरुका उत्पादनहरु रहने छन् भने आर्कषणका रुपमा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति, वाल उद्यान, चिडियाखाना, हेलिकप्टरबाट विभिन्न ठाँउको अवलोकन, खेलकुद प्रतियोगिता, फोटो प्रदर्शनी, प्याराग्लाईडिङ रहेको आयोजकले जनाएको छ ।
मेला अवधीभर ठुलो संख्यामा दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सव अवलोकनका लागि गाँउ गाँउ देखि शहरहरुमा प्रचार प्रसार तिब्र पारिएको आयोजकको भनाई छ । १० दिन सम्म चल्ने महोत्सवले गल्कोटलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म चिनाउने महत्वपूर्ण काम हुने आयोजकको विश्वास छ ।
अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यपार व्यवसाय, उद्योग र उत्पादनको प्रवद्र्धन गर्नुका साथै स्थानीय कृषि तथा पशुपालन, पर्यटन लगायत अन्य पेशा सगँ सम्वन्धित विभिन्न क्षेत्रको उत्थान गरी स्थानीय जनताको क्रयशक्तिमा बृद्धि गर्न महत्व दिने आयोजकले जनाएको छ । घरेलु उत्पादनलाई बजार सम्म पुयाउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्नेमा आयोजकले विश्वास लिएका छन् । महोत्सव सफल पार्नका लागी स्थानिय ब्यवस्थापनका लागी हर्क बहादुर पाण्डेको संयोजकत्वमा १४ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा चित्र बहादुर साहनी, सचिवमा रामप्रसाद कडेल, सहसचिवमा जय बहादुर बुढाथोकी, कोषाध्यक्षमा किसान बुढाथोकी रहेका छन् ।
त्यस्तै नर बहादुर खत्रीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहाकार समिति गठन भएको छ । त्यस्तै रामप्रसाद कडेलको संयोजकत्वमा प्रचारप्रसार समिति, नर बहादुर खत्रीको संयोजकत्वमा अतिथि सत्कार ब्यवस्थापन समिति, सञ्जय नेपालीको संयोजकत्वमा सुरक्षा तथा स्वयम् सेवक ब्यवस्थापन समिति, मोहन केसीको संयोजकत्वमा कलाकार ब्यवस्थापन समिति, गंगा भुजेलको संयोजकत्वमा कला, सस्कृति ब्यवस्थापन समिति, किसान बुढाथोकीको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, हेम बहादुर बुढाथोकीको संयोजकत्वमा खेलकुद ब्यवस्थापन समिति, होम बहादुर थापाको संयोजकत्वमा डान्स आईडल ब्यवस्थापन समिति, माया चोखालको संयोजकत्वमा रत्यौली ब्यवस्थापन समिति, खिम साहनीको संयोजकत्वमा लोक दोहोरी गीत ब्यवस्थान समिति र जय बुढाथोकीको संयोकजत्वमा प्राथमिक उपचार ब्यवस्थापन समिति गठन गरिएको छ ।
महोत्सवमा लिँगेपीङ, चर्खे पिङ, बालबालिकाका लागी ट्रेन खेलौना, जम्पिङ खेलौना लगायत गरि ५, ६ वडा मनोरञ्जनात्मक स्थल निर्माण गरिने बताईएको छ । महोत्वसको तयारी भोलि असोज १६ गतेसम्म पुरा हुने आयोजकले जनाएका छन् ।
आयोजकका अनुसार महोत्सवको करिब ७० प्रतिशत कार्य सम्पन्न भएको छ । तर महोत्सव स्थलको कार्य प्रगति आयोजकहरुले भनेजस्तो देखिदैन । व्यापारिक स्टलहरुका लागि टहराहरु बनेका भएपनि अरु धेरै कुराहरु निर्माण कार्य हुन बाँकी देखिन्छ । भलिबल, डान्स आईडल, रत्यौली आदि प्रतियोगितात्मक कार्यक्रमहरुको व्यवस्थापन कसरी गरिएको छ भन्ने चासो सबैको छ ।
यसैवीच स्थानीय पत्रकार वीर चोखालसंग ईबागलुङले असोज १८ गते देखी सुरु हुन लागेको प्रथम गल्कोट साँस्कृतिक महोत्सवको बारेमा जिज्ञासा राख्दा २०६३ साल मंसिर १ गते देखी ७ गते सम्म आयोजित गल्कोट घुम्टे महोत्सव पश्चात झण्डै ११ वर्ष पछी आयोजना गर्न लागिएको यो साँस्कृतिक महोत्सवले स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्न र यस क्षेत्रको सास्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आसन्न महोत्सवप्रति जनभावना के पाउनु भएको छ ? भन्ने प्रश्नमा पत्रकार चोखालको जवाफ थियो, पहिले त यो महोत्सव होला र भनेर आशंका गरिएको थियो, तर अहिले यसको तयारी र प्रचारप्रसारलाई हेर्दा महोत्सवप्रति स्थानीयवासीले व्यापक चासो लिएका छन् ।
तत्कालीन गल्कोट घुम्टे महोत्सव २०६३ का सचिवालय सदस्य एवं सन्चार संयोजक समेत रहेका पत्रकार चोखालले पर्सि देखी सुरु हुन लागेको प्रथम गल्कोट साँस्कृतिक महोत्सव प्रति सबैको एक्यवद्धता आवश्यक रहेको उल्लेख गर्दै गल्कोट नगरपालिका, घुम्टे पर्यटन विकास केन्द्र तथा उद्योग वाणिज्य संघ गल्कोट इकाईले महोत्सवप्रति अपनत्व देखाउन नचाहनु चिन्ताको विषय रहेको बताए ।
हरिचौरका समाजेवी एवं शिक्षक दिनेश खत्रीले महोत्सवको आयोजना हुनुलाई सकारात्मक रुपमा लिँदै यस महोत्सवको तयारीलाई लिएर केहि आशंका व्यक्त गरेका छन् । सोँचे र भने जस्तो किसिमले महोत्सव सफल बनाउन अझ निकै कामहरु गर्नुपर्ने उनले बताए ।
महोत्सवमा प्रदर्शन गरिने स्थानीय नाँचहरुको जिम्मा आफुलाई आयोजकले सुम्पिएकाले बताउदै खत्रीले गल्कोट क्षेत्रका पुराना संस्कृति झल्किने नाँचहरुको व्यवस्थापन गर्न आफु लागि परेको बताउदै महोत्सव सफल बनाउन व्यापक जनसहभागिता आवश्यक रहेको औँल्याए ।
हरिचौर र हटिया वीचको पुरानो सोँच कायमै हुनाले दरमखोला पारी मजुवाफाँट (साविक हरिचौर गाविसकै किन नहोस)मा आयोजना गरिने कुनैपनि कार्यक्रममा हरिचौरको साथ नहुने र दरम खोला वारी हुने कार्यक्रममा हटियाको सहयोग नरहने परम्पारावादी सोँच यो महोत्सवमा देखिएको स्थानीयले बताएका छन् ।
आसन्न महोत्सवलाई लिएर राजनीतिक विचारधाराले काम गरेको आशंका पनि स्थानीयले गरेका छन् । एकातिर माओवादी केन्द्र निकट व्यक्तिहरुको सक्रियतामा हुन लागेको भनेर नगरपालिका र उवासंघ गल्कोट ईकाईको महोत्सवमा तादात्म्यता नरहेको आशंका स्थानीयको छ भने अर्कोतिर दरमखोलाको पारी मजुवाफाँटमा आयोजना गरिने भनेर घुम्टे पर्यटन विकास केन्द्रको साथ नरहेको पनि चर्चा गल्कोटमा चलेको छ । महोत्सवको मुल आयोजक संस्था हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्ट पोखराको भएकोले महोत्सवप्रति गल्कोटमा क्रियाशील संघसंस्थाहरुबाट हार्दिक सहयोग जुट्न नसकेको विश्लेषण स्थानीयको रहेको छ ।
तस्वीर सौजन्य: दिनेश खत्री, गल्कोट हरिचौर ।