गुमानसिँह भण्डारी गल्कोट २०७४ असोज १९ । गल्कोटमा सञ्चालित प्रथम साँस्कृतिक महोत्सवको दास्रो दिन लोक कलाकारहरुको प्रस्तुति विशेष आकर्षण रह्यो । यस बाहेक आयोजकले अन्य कार्यक्रम सन्चालनमा ल्याएका छैनन् । महोत्सव स्थलमा बनाईएको टहरामा एकसय भन्दा बढी स्टलहरु राखिने आयोजकले बताएपनि आज सम्म जम्मा २८ स्टलहरु राखिएको छ ।
“समग्र बिकासका लागी नयाँ कल्पना” भन्ने मूल नाराका साथ हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्ट प्रालि पोखराले सन्चालन गरेको महोत्सवमा सांगीतिक कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागीता रहेको छ ।
गल्कोट नगरपालिका वडा नम्बर ६ हरिचौर मजुवाफाँटमा आयोजना गरिएको महोत्सवमा कलाकारहरु शिव हमाल, पुरुषोत न्यौपाने, ज्योति लोहनी, पुर्ण परियार, चोलेन्द्र पौडेल, कृष्ण केसी, हास्य कलाकार सुरज थापा, बिकास रम्तेल, पुर्ण गुरुङको साँगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रमको सहजिकरण कलाकार चोलेन्द्र पौड्यालले गरेका थिए ।
महोत्सव अवधिमा हेलिकोप्टरबाट विभिन्न पर्यटकीय तथा धार्मीक स्थलको अवलोकन गर्न सकिने आयोजक सस्थाका सचिव मोहन केसीले बताए । महोत्सवमा प्याराग्लाईडिङका लागी पनि दर्शकहरुको आकर्षण बढेर गएको छ ।