Sorry, that menu does not exist.
 

एमाले र माओवादी केन्द्रको चुनावी गठनबन्धनले उनीहरुमा अहँकार पलाएको छ – पौडेल

जनआन्दोलनका सहयात्री दल जो सुकै संग पनि तालमेल हुन सक्छ

कमल राना, बागलुङ २०७४ असोज २१ । राष्ट्रिय जनमोर्चा बागलुङले आगामी मंसीरमा हुने प्रदेश र संघको निर्वाचनलाई परिणाममुखी बनाउने गरि अभियान संचालन गर्ने भएको छ । मंसीर १० गते हुने प्रदेश र संघको निर्वाचनको तयारी स्वरुप आयोजना गरिएको जिल्ला भेलाले निर्वाचनलाई परिणाममुखी बनाउनका लागि बिभिन्न योजनाका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।

जिल्लाका सवै नगरपालिका, गाउँपालिका र वडाका नेता कार्यकर्ताहरु सहभागी भेलाले चुनावलाई परिणाममुखी बनाउनका लागि एकल वा तालमेल गरेर जसरी हुन्छ अगाडी बढ्ने निर्णय गरेको छ । भेलाले अभियान संचालन तथा निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि बिभिन्न कार्यक्रम सहित ९ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन समिति, ५ सय १ सदस्यीय प्रचार प्रसार समिति र बुथ संरक्षण समिति गठन गरेको छ ।

भेलाको उद्घाटन गर्दै बामपन्थी नेता कृष्णराज पौडेलले निर्वाचनमा यो वा त्यो भन्दा पनि जनआन्दोलनका सहयात्री दल जो सुकै संग भएपनि तालमेल हुन सक्ने बताए । पौडेलले बामपन्थी दल तथा नेपाली कांग्रेस सँग चुनावी तालमेल गरेर जाने बराबर सम्भावना रहेको बताए । केन्द्रमा बामपन्थी दल र नेपाली कांग्रेस सँग उच्चस्तरमा छलफल भएको बताउँदै पौडेलले एमाले र माओवादी केन्द्रको चुनावी गठनबन्धनले उनीहरुमा अहँकार पलाएको समेत बताए ।

पौडेलले चुनावी तालमेल बाहेक एक्लै पनि चुनावी मैदानमा जाने सम्भावना रहेको बताउँदै उत्साहका साथ जनभेटघाट कार्यक्रमलाई तिब्र पार्न कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गाना, अन्तराष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गंगा पौडेल, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार कृष्ण थापा, जिल्ला सदस्य गौरीश्वर पाण्डे, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सल्लाहकार नरबहादुर पुन, अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापा, अखिल छैठौका केन्द्रिय महासचिव भिमलाल पोख्रेल, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य ताराप्रसाद शर्मा, अखिल नेपाल महिला संघका अध्यक्ष रुद्राकुमारी केसी र अखिल नेपाल शिक्षक संघका अध्यक्ष कृष्णप्रसाद आर्चायले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।

कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता, कोषाध्यक्ष लक्ष्मी बाँस्कोटाको स्वागत र सचिव धर्मबहादुर कुवँरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply