प्रेम सुनार, गुल्मी, २०७४ असोज २५ । गुल्मी लगायत छिमेकी जिल्लाका स्थानीयलाई अब एपेन्डिसाइटिसको उपचार गर्न पाल्पा बुटवल जानु नपर्ने भएको छ । जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ । जुन खबरले नागरिकहरुमा खुसी छाएको छ ।
अहिलेसम्म जिल्ला अस्पताल तम्घासमा एपेन्डिसाइटिसको शल्यक्रिया नगरिएको अस्पताल प्रसासनले जनाएको छ । जसका कारण सवै स्तरका परिवारहरु पाल्पा बुटवल लगायतका स्थानहरुमा बढि खर्च तिरेर उपचारको लागि पुग्ने गरेका थिए ।
अहिले जिल्ला अस्पताल तम्घासमा सरुवा भएर आएका एमडिजिपी डाक्टर उत्तम पच्याले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेका छ् । ‘मेरो लागि नौलो कुरा भएन जिल्ला अस्पतालमा पहिलो अप्रेशन रहेछ,’पच्याले भने,‘अब धेरै खर्च गरेर एपेन्डिसाइटिसकै लागि बाहिर नजान सवैलाई आग्रह गर्दछु ।’
पहिलो पटक रेसुङ्का नगरपालिका ९ की ३२ बर्षिया सम्झना मरासिनीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । उनी जिल्ला अस्पताल तम्घासमै कार्यरत कर्मचारी हुन् । अहिलेसम्म जिल्ला अस्पतालमा यो रोगको उपचार नभएपनि डाक्टरको हिम्मतको कदर गर्नकै लागि आफुले शल्यक्रिया गर्न सहमती जनाएको सम्झनामा श्रीमान बासु मरासिनीले बताए ।
‘जोखिम मोलेकै हुँ, तर सफल भयो खुसी छु,’ मरासिनीले भने, ‘आफुपनि डाक्टरको क्षमताबाट प्रभावित भएँ ।’ जिल्ला अस्पताल यो रोगको उपचारका लागि योग्य भएकाले गर्ने नगर्ने भन्ने कुरा डाक्टरको हातमा भएको शल्यक्रियामा सहभागी डाक्टर पच्याले बताए ।
‘पहिले पनि डाक्टर र अवस्था उस्तै थियो तर शल्यक्रिया भएको रैनछ,’पच्याले भने,‘यो सवै कुरा व्यक्ति र उसको कार्यकुशलतामा भरपर्छ ।’ पच्याकै अनुसार बाहिर प्राइभेट अस्पतालमा गएर एपेन्डिसाइटिसको उपचार गर्दा ४० देखि ५५ हजार खर्च हुने गर्दछ ।
तर जिल्ला अस्पतालमा करिव ८ हजारमा सो रोगको उपचार हुने उनले बताए । डाक्टर पच्या गुल्मी पराल्मी निवासी हुन् ।
गत एक वषभरीमा जिल्ला अस्पताल गुल्मीले जम्मा प्रसुति सम्वन्धी १३ वटा मात्रै जटिल शल्यक्रिया गरेको थियो । त्यस अघिका वर्षहरुमा अधिकांस पाल्पा रिफर गरिन्थ्यो । तर उनी जिल्ला अस्पताल ताप्लेजुङ्कबाट सरुवा भएर भदौ १ गते जिल्ला अस्पताल गुल्मी आउनुभएका डाक्टर पाच्यले डेढ महिना मै अस्पतालले वर्षभरी गर्न नसेको शल्यक्रिया डेढ महिना मै १९ वटा गरेका छन् ।
अव जिल्ला अस्पतालबाटै हाड सम्वन्धी शल्यक्रिया सेवा समेत आफुले दिन सक्ने डाक्टर पाच्यले बताए । उनी निक साईमन्स काठमाडौले खटाएर पठाएका डाक्टर हुन् ।
अव उनी त्यस अस्पतालमा रहे सम्म प्रसुतिको जटिल शल्यक्रियाका लागि सर्वसाधरण कुनै ठुला अस्पताल धाउन र बढि खर्चमा पर्न पर्ने छैन् । उनी आउनु अघि सम्म शल्यक्रिया गराउनु पर्ने गर्भवती महिला पाल्पा बुटवल जानु पर्दथ्यो । त्यस क्रममा कतिपयको ज्यान समेत जाने गरेको थियो ।
तस्वीर जिल्ला अस्पताल तम्घासमा गरिएको सफल शल्यक्रिया