कृष्ण कँडेल, बागलुङ २०७३ माघ १४ । केहि दिन पहिले निर्वाचनबाट गठन गरिएको उत्तरगंगा उमावि बुर्तिबाङको विद्यालय व्यवस्थापन समितिलाई विधिसम्मत नभएको भन्दै जिल्ला शिक्षा कार्यालय बागलुङले फेरी नयाँ प्रक्रियाबाट गठन गर्न निर्देशन दिएको छ ।
निर्वाचनमा जान अभिभावक तथा उम्मेद्वार नै तयार नभएको, निर्वाचनका लागि मतदाता सुची प्रकाशन, मतपत्र लगायतका निर्वाचन प्रक्रिया पुरा नगरिएको जस्ता कारणले नयाँ विव्यस गठनलाई स्विकृति दिन नसकिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले बताए ।
निर्वाचन नै गर्नुपर्ने भएपछि मतदाताहरुको सहमतीमा विद्यालय निरीक्षकले गर्नुपर्ने भन्दै उनले अभिभावक विच सहमती गरेर फेरी विव्यस गठन गर्न निर्देशन दिर्ईएको बताए ।
गत जेठमै विव्यसको म्याद सकिएपनि विद्यालयमा समिति गठन हुन सकेको थिएन । यसअघि गत असोजमा विद्यालयले बोलाएका दुई ओटा अभिभावक भेलामा अभिभावकको न्युन उपस्थितीले समिति गठन हुन नसकेको विद्यालयले जनाएको छ ।
गत मंगलबार विद्यालयमा भएको अभिभावक भेलामा केहि अभिभावक र उम्मेद्वारको असहमतीविच श्रोतव्यक्ति बेदबहादुर बुढाले विद्यालयमा निर्वाचन गराएका थिए । निर्वाचनबाट चुडाबहादुर कुँवरको अध्यक्षतामा समिति गठन गरिएको थियो ।
यसैवीच विद्यालय व्यवस्थापन समितिको विवरण सहितको प्रतिवेदन लिएर प्रधानाध्यपक धनबहादुर कुँवर र नव निर्वाचित अध्यक्ष चुडाबहादुर कुँवर विहिबार जिल्ला शिक्षा कार्यालय जाँदा कार्यालयले डकुमेन्ट नबुझेको श्रोतको दाबी छ ।
विद्यालयमा विगत ७ बर्षदेखि विव्यस गठन, प्रअ नियुक्ति जस्ता विषय विवादित हुँदै अएका छन् । प्रअ नियुक्ति सम्बन्धि मुद्दा सर्बोच्च अदालत तथा अख्तियारसम्म पुगेको थियो । विद्यालयमा चरम राजनीतिक विवादले शैक्षिक र भौतिक अबस्था विगँ्रदै गएको छ । नियमित गर्नुपर्ने लेखापरिक्षण तथा सामाजिक परिक्षण समेत हुन सकेको छैन ।