खेमराज अर्याल, बुर्तिवाङ २०७४ कात्तिक २ । तिहार शुरु भएसँगै गाँउघरदेखी शहर वजारसम्म सबैतिर विभिन्न समुह बनाएर देउसी भैलो खेल्ने क्रम सुरु भएको छ । तिहारमा देउसी भैलो खेलेर उठ्ने रकमबाट केही क्लव तथा समुहहरुले सामाजिक कार्यका लागी सहयोग गर्ने गरेका छन् भने केहीले रमाइलोका लागी मात्रै भएपनि देउसीभैलो खेल्ने गरेका छन् ।
जागरण युवा क्लव बुर्तिबाङले पनि बुधबारदेखी सुरु गरेको देउसी कार्यक्रम आज समापन गरेको छ । गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागी सहयोग गर्ने उद्धेश्यले देउसी खेलिएको क्लवका सचिव झम शिर्पालीले बताए ।
क्लवको सक्रियतामा आर्थिक संकलन गरेर अहिले बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा कक्षा ११ र कक्षा १२ मा गरी जम्मा ९ जना विद्यार्थीलाई अध्यापन गराइएको छ । कक्षा १२ मा ५ जना र कक्षा ११ मा ४ जना जेहेन्दार र विपन्न परीवारका विद्यार्थीलाई अध्ययन गर्नका लागी क्याम्पसमा लाग्ने मासिक शुल्क फर्म शुल्क लगाएत सबै शुल्क क्लवले तिरिदिने सचिव शिर्पालीको भनाई छ । अघिल्लो शैक्षिक सत्रमा पनि क्लवले ५ जना विद्यार्थीलाई कक्षा ११ मा अध्ययनका लागी विद्यालयमा लाग्ने शुल्क तिरिदिएको थियो ।
यसवर्ष पनि ९ जना विद्र्याथीको शुल्क तिर्ने जिम्मा क्लवले लिएकाले रकम जुटाउनका लागी बुधबारदेखी निसीखोला गाँउपालिका वडा नम्बर २ काल्नेचौरमा वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्मा, क्लवको निसीखोला गाँउपालिका उपसमिति अध्यक्ष तेजेन्द्र पौडेल लगाएतको उपस्थितिमा देउसीभैलो २ दिने देउसी भैलो सुरु गरिएको क्लवले जनाएको छ ।
अहिलेसम्म विभिन्न सहयोगदाताबाट रकम संकलन गरेर तथा आवश्यक परेका खण्डमा क्लवकै सदस्यहरुबाट रकम उठाएर विद्यार्थीलाई अध्यापन गराउदै आएको क्लव सचिव शिर्पालीको भनाई छ । आर्थिक रुपमा विपन्न भएकै कारण पढ्न पाउने अधिकारबाट विद्यार्थी वञ्चित हुन नपरोस भनेर क्लवले अभियान थालेको सचिव सिर्पालीले बताए ।
क्लवले २ दिनसम्म देउसी खेलेर २१ हजार ८३ रुपैयाँ सहयोग रकम जुटाएको छ । उक्त रकमले यसवर्षका लागी २ जना विद्यार्थीका लागी विद्यालयमा लाग्ने शुल्क तिर्न पुग्ने बताइएको छ । क्लवले निसिखोलामा २ दिन देउसी खेल्ने लक्ष्य बनाएको र सोही अनुसार आज देउसी समापन गरिएको क्लवले जनाएको छ ।