Sorry, that menu does not exist.
 

बागलुङमा मौलाउदै भ्रष्टाचार, जिल्लावासी भन्छन, अख्तियारको नजर यतापनि परोस !

बागलुङ २०७४ कात्तिक ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा स्थित कार्यालयबाट खटि आएको टोलीले गत असोज २६ गते मालपोत कार्यालयमा छापा मारी मालपोत अधिकृतलाई रंगेहात पक्राउ गरेर कार्वाही अघि बढाएको घटना पछी सदरमुकाममा गन्हाएका केहि सरकारी निकायहरुमा भए गरिएका भ्रष्ट कार्यहरुको लिपपोत गर्ने कार्य भैरहेको चर्चा प्रकाशमा आईरहेकै अवस्थामा बागलुङ नगरपालिकामा नगरपालिकाका पदाधिकारी (बोर्ड)को बैठक नै नबसी नगर प्रमुखको अनाधिकृत तोक आदेशबाट लाखौँ रुपया दुरुपयोग भएको रहस्य सार्वजनिक भएको छ ।

समाचार श्रोतका अनुसार झण्डै अढाई महिना देखी नगरपालिकाको बैठक बसेको छैन, तर यस वीच नगरप्रमुखको अनाधिकृत आदेशले लाखौँ रुपया बाँडिएको छ । सबै काम नगरपालिकाको बैठक बसेर गरौँ भन्ने नगर प्रतिनिधीहरुको मागलाई धोँती लगाएर नगरप्रमुखले दशैँको विदा सुरु भएको भोलि पल्ट प्रतिनिधीहरुलाई आवसामा बोलाएर उपमेयरलाई १ लाख २० हजार र बडाध्यक्षहरु १४ जनालाई जनहीँ रु ८० हजारका दरले दशैँ खर्च वितरण गरेका छन भने स्वयंले रु १ लाख ६० हजार लिएका छन् ।

यतिमात्र नभएर नगरपालिकाका विभिन्न वडाहरुमा आयोजना गरिने महोत्सव, उत्सव र मेलाका नाममा आफुखुसी ५० हजार देखी माथी रकम वितरण गरिरहेका छन् । आसन्न प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई प्रभाव पार्ने गरी नगरप्रमुखले बैठकै नबसी आफुखुसी विभिन्न योजनाको नाममा लाखौ रकमको निर्माण सामाग्री वितरण गरिरहेका घटनाले आक्रोश बढेको छ ।

एक जना एमाले वडा अध्यक्षले ‘नगरपालिकामा हाम्रै पार्टीको पूर्ण बहुमत छ बैठक बसेर निर्णय गरेर वितरण गरे हुन्छ नि’ भनेर सल्लाह दिँदा समेत बेवास्ता गरेको खुलासा गरेका छन् ।

बलात् सरुवा गराईएका तत्कालीन कार्यकारी अधिकृत सुवास कुमार लामिछानेलाई सामान्य विदाई समेत नगरी उनले नियमानुसार आफु मुनिका कर्मचारीलाई दिएको लिखित अख्तियारी पत्र समेत गुपचूप पारी तल्लो दर्जाका कर्मचारीले प्रशानिक एवं आर्थिक काम कार्बाही गरेको समाचार सन्चारमाध्यमहरुमा प्रकाशित भएपछी अख्तियारले सामान्य सोधखोज गरेपनि कुनै कार्बाही अघि नबढाएको श्रोतले बतायो ।

आर्थिक अपचलनले दुर्नाम हुँदै गएको बागलुङ नगरपालिकामा नयाँ कार्यकारी अधिकृतको रुपमा जुम्लाको प्रजिअबाट नारायण प्रसाद सापकोटा आएका हुनाले नगरपालिकामा भए गरिएका गतिविधी नियन्त्रण हुनेमा स्थानीयले विश्वास लिएका छन् ।

उता जिल्ला समन्वय समितिको कार्यालय साबिक जिल्ला विकास समितिको कार्यालयबाट संझौता गरी निर्माण सुरु गरिएका करोडौका योजनाहरु विभिन्न कारणले अलपत्र रहेका छन् । लेनदेन नमिल्नाले समयमै भुक्तानी नदिँदा निर्माण कार्य रोकिएको सम्वन्धित ठेकेदारहरुले बताएका छन् । जैमिनी नगरपालिकाको ठेउले खोलाका निर्माणाधीन मोटरेबल पुल यसको ज्वलन्त उदाहरण हो ।

कार्यालयबाट सम्झौता गरी लगिएको रकम समयमै काम नगरी दुरुपयोग भयो कार्बाही गरियोस भनेर ध्यानाकर्षण गराउदा न स्थानीय प्रशासनले चासो लिन्छ न स्थानीय विकास अधिकारीले नै अनुगमन गर्ने प्रचलन छ । उल्टै स्थानीय विकास अधिकारीले रकम लगेर काम नगर्ने आरोप लागेकाको पक्षपोषण गरेर, समाचार प्रकाशित गर्ने सन्चारमाध्यमलाई नै धम्कीपूर्ण पत्राचार गर्ने गरेका छन् । स्वयं अख्तियारमा रहेर सेवा दिईसकेका बागलुङका स्थानिय विकास अधिकारी यसै जिल्लाका बासिन्दा भएकाले पनि राजनीतिक पक्ष लिएर कसैलाई काख र कसैलाई पाख गर्ने गरेका आरोप लागेको छ । राजनीतिक पूर्वाग्रहबाट काम हुने गरेकाले विकास कार्यमा भ्रष्टाचार मौलाएको जिल्लामा व्यापक चर्चा भैरहेको छ ।

यसै विच सदरमुकाममा रहेको उद्योग विकास शाखाले तालीम नै सन्चालन नगरी कागजीरुपमा तालीम सन्चालन भएको देखाई तालिम नै नलिएका प्रशिक्षार्थी समेतलाई तालिम भत्ता बाँडी अन्य हजारौँ रकम हिनामिना गरेको समाचार सन्चार माध्यमहरुमा प्रकाशित हुँदापनि कुनै कार्बाही भएको छैन । यसरी बागलुङमा भ्रष्टाचारलाई मलजल भैरहेकोले यसलाई तत्काल निरुत्साहित गर्न अख्तियारको ध्यान जानु जरुरी रहेको आम जिल्लावासीको माग रहेको छ ।

अख्तियारले माथि उल्लेखित कार्यालयहरुबाट भएका भ्रष्ट कार्यको अख्तियारले छानविन गरोस भन्ने जनभावनालाई सरोकारवाला निकायले कदर गर्ने नागरिक समाजको विश्वास लिएको छ ।

यो लिंक पनि पढौं

अख्तियारको टोलीव्दारा बागलुङ मालपोतका हाकिम १० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ !

कहिले बन्ला यो पुल ? २ करोड लागतको ठेउले खोलाको मोटरेबल पुल ३ वर्ष देखी अलपत्र !

तालिम नै सन्चालन नगरी सिकर्मी तालिमलाई आएको रकम हिनामिना गर्ने माथि कार्वाही होला ?

बागलुङ नगरपालिका भ्रष्टपालिका बन्दै, अख्तियारी पत्र लुकाएर तल्लो दर्जाका कर्मचारी हाकिम !

सन्चारमाध्यम माथि विषवमन गररे स्थाविअले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको त होईन ?

सांसद कोषको लाखौं रकम हिनामिना : तत्काल छानविन नगरे काठेखोला गापामा तालाबन्दी गर्ने चेतावनी !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply