शंकर भुसाल, गुल्मी २०७४ कात्तिक १८ । गुल्मी रेसुङ्गा नगरपालिका-९ उपल्लो तम्घासको उपल्लो तम्घास मा बि गुल्मी कै पहिलो र धेरै अपाङ्गता भएका बिद्यार्थी अध्यापन गराउने बिद्यालय हो । यहाँ सुस्त श्रवण बिद्यार्थी १९ जना र बौद्धिक अपाङ्गता भएका १३ जना बिद्यार्थीले समाहित शिक्षा हासिल गर्दै आई राखेका छन । २०५९ सालमा यस बिद्यालयमा दुई खालका फरक क्षमता भएका बिधार्थीको बिषेश शिक्षा शुरु गरिएको हो ।
शारीरिक रुपले अपाङ्ग भईकन पनि शिक्षा लिन र शिक्षित बन्न कुनै पनि व्यक्ती नछुटोस भन्ने उद्देश्यले अपाङ्ग समाहित शिक्षाको सुरुवात गरिएको बिद्यालयका प्रधानाध्यापक राममणी पन्थीले बताए । यस बिद्यालयमा ११ जना बिद्यार्थीबाट अध्यापन गराउन सुरु गरिएको समाहित शिक्षा अन्तरगत दृष्टिबिहीन बाहेक सुस्त श्रवण र बौद्धिक अपाङ्गता भएका बिद्यार्थीले अध्ययन गर्ने गर्छन ।
यस बाहेक गुल्मीमा अरु दुई बिद्यालयमा अपाङ्ग भएका बिद्यार्थी हरुलाई अध्यापन गराईन्छ । जिल्ला शिक्षा कार्यलय गुल्मीको आर्थिक सहयोग र यस बिद्यालयका प्रधानाध्यापक राममणी पन्थीको पहलमा बिद्यालयमा समाहित शिक्षा दिन थालिएको हो । हाल तिन जना शिक्षक र तिन जना आयाहरु यस बिद्यालयमा अपाङ्गको शिक्षा र रेखदेखको लागी राखिएको छ ।
“म त्यतिखेर भादगाउँमा शिक्षक भएर अध्यापन गराईरहेको थिएँ । बिद्यालयमा पढ्ने दुई अपाङ्ग बिद्यार्थीलाई हेलाको भावले बोलाउने र व्यवहार गर्ने गरेको देखेर यी शारीरिक अपाङ्गको निम्ती छुट्टै अध्यापन गराउने व्यवस्था मिलाउन लागेँ त्यति नै बेला मेरो सरुवा उपल्लो तम्घास मा बि मा भयो अनि यो प्रस्ताब मैले तत्कालीन बिद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई राख्दा उहाँले स्वीकार्नु भएन ,त्यसपछि म बिद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य गुणनिधि मरासिनी सँग मिली १५ र १५ हजार गरि कुल ३० हजार रुपयाँ उठाई हामी दुईले आफै कक्षा कोठा निर्माण गरि बिषेश शिक्षाको तालिम लिई गुल्मीका अपाङ्ग बालबालिकाहरुलाई जम्मा पारेर पढाउन थाल्यौँ ” प्रधानाध्यापक पन्थीले भने।
त्यो समयमा अपाङ्गहरुलाई पढाउन शिक्षकहरु नभएकोले म आफै अध्यापन गराउने र अपाङ्गको रेखदेख गर्न थालेँ । त्यसपछि सबै तिरबाट सहयोग आउन थाल्यो, बिद्यार्थी थपिँदै जान थाले र जिल्ला शिक्षा कार्यलयले पनि हरेक व्यवस्थापनमा सहयोग र अनुदान दिन थालेपछि यहाँ सम्म आईपुग्यौँ , प्रधानाध्यापक पन्थी सम्झिन्छन् ।
अहिले हरेक अपाङ्गको लागी मासिक ४ हजार खर्च जिल्ला शिक्षा कार्यलयबाट व्यवस्थापन गर्दै आईराखेको जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले बताए । जिल्ला शिक्षा अधिकारी शर्माले ती अपाङ्ग बिद्यार्थी हरुलाई मासिक ५०० व्यक्तीगत खर्च को लागी र शिक्षक हरुलाई खाना नास्ता तलब भत्ता पनि दिईँदै आएको बताए ।
गुल्मीमा तम्घास लगाएत रिमुवा र श्रृङ्गामा पनि समाहित शिक्षा दिईँदै आईराखेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जानकारी दिएको छ । श्रृङ्गामा दुई खालका फरक क्षमता भएका बिद्यार्थीहरुलाई शिक्षा दिईन्छ भने रिमुवामा दृष्टि बिहीनहरुलाई ब्रेल लिपि द्धारा अध्यापन गराईन्छ । श्रृङ्गमा ५ जना दुई खालका फरक क्षमता भएका बिद्यार्थीले अध्ययन गर्छन भने रिमुवामा १२ जना दृष्टि बिहीनहरुले अध्ययन गर्ने गर्छन। यसै गरि गाउँघरमा पनि कुनै अपाङ्ग बालबालिकाहरु भएको भए समयमा नै बिद्यालयमा ल्याई कुनै पनि बालबालिकालाई शिक्षाबाट बन्चित नगराउन उपल्लो तम्घास माध्यामिक बिद्यालयका प्रधानाध्यापक पन्थीले आग्रह। गर्दै आएकाक छन् ।
प्रअ पन्थीले बिद्यालयमै अपाङ्गहरुको आवासको लागी होस्टेल बनाउन केहि रकमको जरुरत परेकाले स्थानिय सरकार,सँघ सँस्था ,व्यवसायी तथा सहयोगी भाव भएका व्यक्तिहरुलाई सहयोगको लागी आग्रह समेत गरेका छन् ।