कविता घर्तीमगर पोखरा २०७३ माघ १६ । कास्कीमा “समयमा नै कुष्ठरोगको उपचार गरौं, अपाङ्गता हुनबाट बचौं” भन्ने नाराको साथ ६४ औं कुष्ठरोग दिवस मनाईएको छ । गत माघको ११ गते देखी बिभिन्न कार्यक्रम गरी कुष्ठरोग दिवस मनाईएको आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
ब्यानर टास्ने, कुष्ठरोग लागेकाहरु बिच खेलकुद तथा हाजिरीजवाफ प्रतियोगिता, फलफुल बितरण जस्ता कार्यक्रम गरिएको क्षेत्रिय स्वास्थ्य निर्देशनालयका क्षयरोग/कुष्ठरोग निरिक्षक रेख बहादुर थापा मगरले जानकारी दिए। पछिल्लो ४ महिनाको तथ्याङ्क अनुसार पश्चिमाञ्चलमा उपचारमा रहेका क्षयरोगीको संख्या ३ सय ९० रहेको जानकारी दिए । पश्चिमाञ्चलमा १ सय ४९ जना नयाँ क्षयरोगी पत्ता लागेको उनले बताए । क्षयरोग नियन्त्रणमा रोग लागेर पनि उपचार नगरी बस्ने र उसैको माध्यमबाट अरुलाई पनि सर्ने चुनौती रहेको उनले बताए ।
पश्चिमाञ्चलमा नै पनि सबै भन्दा धेरै कपिलबस्तुमा क्षयरोगी रहेका छन भने मनाङ्ग र मुस्ताङ्ग जिल्लामा भने शुन्य रहेको छ । पहाडी जिल्लामा भने कास्की जिल्लामा नै धेरै रहेको छ । कास्कीमा २१ जना उपचाररत कुष्ठरोगी रहेको र ८ जना नयाँ पत्ता लागेको जिल्ला जन स्वास्थ्य कार्यालय कास्कीका क्षयरोग/कुष्ठरोग निर्देशक बिष्णु प्रसाद सुवेदीले जानकारी दिए ।