पछिल्लो १० बर्षमा बागलुङ जिल्लामा ३ सय ४० जना एचआईभी संक्रमितको पहिचान !
कोपिला कंडेल, बागलुङ, २०७४ मंसिर १५ । पछिल्लो १० बर्षमा धौलागिरी अञ्चल अस्पताल बागलुङमा ३ सय ४० जना एचआईभी संक्रमित भेटिएका छन । ३० औँ विश्व एड्स दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय बागलुङव्दारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
अन्तरक्रियाको सहजिकरण गर्दै धौलागिरी अंचल अस्पताल बागलुङ्गका मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारीले १ सय ८० जना महिला र १ सय ६० जना पुरुष गरी ३ सय ४० जना संक्रमित पत्ता लागेको जानकारी दिए ।
उनले १ सय ३१ जनाले एआरटी प्रयोग गरिरहेको, २४ जना अझै सम्पर्कमा नरहेको र १ सय ५ जना बाहिर रहेकोे जानकारी दिएका थिए ।
डा राजभण्डारीले बैदेशिक रोजगारमा गएका व्यक्ति, असुरक्षित यौन सम्पर्कका कारण एच.आई.भि एड्स बढ्ने भन्दै यसलाई रोक्नका लागी सधैँ सुरक्षित यौन सम्पर्क गर्नुपर्ने बताए ।
हाल सम्मका संक्रमितहरु मध्य ६१ जनाको मृत्यु भैसकेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङ्गले जनाएको छ ।
आर्थिक बर्ष ०७३/७४ मा जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा अस्पतालमा स्वास्थ्य जाँच गराउन आएका ५ हजर ५ सयय ९० जना मध्य ३ हजार २ सय ९४ जनाको एचआईभी जाँच गर्दा २ जनामा एचआईभी संक्रमण भेटिएको बताइएको छ ।
सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रकाश घिमिरेले संक्रमितलाई समाजमा हेला तथा भेदभावको द्रिष्टीले हेर्ने कारणले संक्रमित अझै खुलेर आउन नसकेको एबं रोगको पहिचान भएपछि पनि नजिकको स्वास्थ्य संस्थाबाट नभै अन्यत्र गएर एआरटी लिने गरेको बताए । उनले जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय सहित धौलागिरी पोजेटिभ समुह निलहिरा समाज एड्स हेल्थ कियर फाउण्डेसन लगायतका संस्थाले एचआईभी सम्बन्धी काम गर्ने गरेको जानकारी दिए ।
कार्यक्रममा बोल्ने सहभागिले समुदायमा एचआइभी एड्स तथा यौन रोगको बारेमा जनचेतनाको स्तरमा सुधार ल्याउनुपर्ने बताएका थिए ।
संक्रमितहरु तथा प्रभावितका लागी सामाजिक तथा आर्थिक पुनःस्थापनाको अभाव भएको भन्दै संक्रमितमा बढ्दै गएको परनिर्भरताको प्रवृत्ति समस्या तथा चुनौतीका रुपमा रहेको बताईएको छ ।
एचआईभी संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि फरक भएकाले यसको न्युनिकरण गर्नका लागी आर्थिक स्रोत तथा दिगोपनको व्यवस्थापन गर्दै जानुपर्ने उनीहरुको जोड थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला जनस्वास्थ्य कार्यालयका देवप्रकाश घिमिरेले गरेका थिए । यसैबिच जिल्ला स्वास्थ्य कार्यालय बागलुङले आज बिहान बिभिन्न सघंसंस्थाको सहकार्यमा प्रभातफेरी गरेको थियो ।