Sorry, that menu does not exist.
 

बुर्तिवाङमा आगलागीबाट करोड बढीको क्षति, नगर प्रमुखको निर्देशनमा घटनास्थलको अनुगमन

राम सुवेदी, बुर्तिवाङ २०७४ पुस १८ । गय राति बुर्तिवाङ बजारमा रहेका दुई घरमा भएको आगलागीबाट करोड बढीको क्षति भएको छ । ढोरपाटन नगरपालिका – १, बुर्तिवाङ बजार स्थित सिर्जना बुढा र गोपाल घर्तीको घरमा भएको आगलागिमा सिर्जना बुढाको घर सहित सरसामान, लत्ता कपडा, खाद्यन्न गरि ४० लाख २८ हजार बराबरको क्षति भएको प्रहरी मुचुल्कामा उल्लेख छ भने, सोही अगलागिमा घर जलेका अर्का गोपाल घर्तिको घर जल्दा ३० लाखको क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । जलेर नष्ट भएका घरहरु पुननिर्माण गर्दा रु एक करोड भन्दा बढी खर्च लाग्ने स्थानीयले बताएका छन् ।

यसैबीच ती दुई घरमा डेरा गरि बस्ने न्यू मोर्डन एकेडेमीका प्रिन्सिपल दीपक कुवँरको नगद सहित ६ लाख ४५ हजार बराबरको क्षति भएको छ भने सोही घरमा सिलाई कटाई व्यवसाय गरेका बलराम दमाईको ५ लाख बराबरको क्षति भएको प्रहरी मुचुल्का बनाइएको छ । त्यस्तै सिमा पुनको १ लाख, महेन्द्र छन्त्यालको ४० हजार बरावरको क्षति भएको बताइएको छ । उता घरधनी सिर्जना बुढाको ९ लाख २८ हजार बराबरको नगद तथा धनमाल क्षति भएको बताइएको छ ।

यसैबीच गोपाल घर्तिको घरमा डेरा गरि बस्ने इस्लामिक धर्म शिक्षण गराउने शिक्षक मौलाना मोहम्मद अवदुल अजिज मियाँको नगद तथा लत्ता कपडा खाद्यन्न सबै जलेर नष्ट हुँदा ९ लाख बरावरको क्षति भएको छ भने सोही घरमा डेरा गरि बस्ने,समशेरदिन मियाँको नगद ८ हजार तथा अमसा खातुनको १० हजार नगद जलेर नष्ट भएको प्रहरी मुचुल्कामा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बुतिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

आगलागिको घटना भएपछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीको निर्देशनमा नगर उपप्रमुख कर्मती पुन, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारी सहितको टोलीले घटनास्थलको प्रत्यक्ष अनुगमन तथा पीडितहरुलाई भेटेको छ । अनुगमनका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले घटनाको प्रहरी मुचुल्काका आधारमा नगरपालिकाद्धारा प्रदान गरिने दैविप्रकोप राहत वितरणका लागि नगरपालिका प्रमुख आएपछि कार्यापालिकाको बैठक बसेर राहत वितरण गर्ने योजना बन्ने बताए ।

उता नगर प्रमुख नेपालीले नगरपालिकाको वजार क्षेत्र भित्र आगलागिबाट भएको क्षति ठूलो भएको भन्दै भोलीका दिनमा आगलागि नियन्त्रणका लागि नगरपालिकाले तत्काल दमकलको व्यवस्थापनमा समेत ध्यान दिनु पर्ने बताए । नगर पमुख नेपालीका अनुसार नगर कार्यपालिकाको बैठकले यस्ता विपत्तिमा परेका पीडितहरुका लागि राहतको व्यवस्था समेत गर्ने प्रतिवद्धता जनाएका छन् ।

आगलागि भए लगत्तै बागलुङ बजारबाट छुटेको दलकल आज विहान साढे ४ बजे मात्र बुर्तिवाङ आइपुगेको थियो । त्यतिबेलासम्म आगो नियन्त्रणमा आईसकेको थियो ।

तीब्ररुपमा शहरीकरण हुँदै गरेकोे बुर्तिवाङ बजारमा अव्यवस्थित रुपमा भवनहरु निर्माण गरिएकाले कुनैपनि समय यस्ता दुर्घटना हुने खतरा विद्यमान रहेको स्थानीयको भनाई छ । अकस्मात अकल्पनीय रुपमा आईलाग्ने दैवी आपत्तीबाट सुरक्षित रहन बजारवासीलाई यस घटनाले अव बुर्तिवाङमा वारुण यन्त्र (दमकल) को आवश्यकता महसूस भएको बजारवासीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply