Sorry, that menu does not exist.
 

कास्कीको मादी गाउँपालिकाको थाकमा मगर भाषा कक्षा सुरु

कविता घर्तीमगर, पोखरा, २०७४ पुस ३० । कास्कीको मादी गाउँपालिका–६, थाकमा १५ दिने मगर भाषा कक्षा सुरु भएको छ । आदिवासी जनजाति समन्वय समिति, मादी गाउँपालिका–६ र ७ को आयोजनामा शनिबारदेखि सो मगर भाषा कक्षा सुरु भएको हो ।

मगर भाषा कक्षाको उद्घाटन गर्दै नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रुद्रबहादुर श्रीसमगरले मगर भाषा नबोल्ने मगर बस्तीहरूमा मगर भाषा कक्षा सञ्चालन गरिनु अति जरुरी रहेको बताए । कुनै पनि भाषा सिकेपछि बोलीचालीमा प्रयोग नगरेसम्म बोल्न नआउने बताउँदै श्रीसमगरले चासो दिएर अभ्यास गरे भाषा सिक्न कुनै कठिन नभएको बताए ।

भूमे आधारभूत विद्यालय, मादी गाउँपालिका–६, थाकका प्रधानाध्यापक इन्द्रबहादुर थापामगरले मगर जाति भएर पनि मगर भाषा बोल्न नजान्दा हीनताबोध हुने गरेको बताउँदै मगर भाषा बोल्नका लागि कक्षाको आवश्यकता ठानेर कक्षाको सुरु गरिएको बताए । मगर भाषा सिकेर सामान्य बोलीचालीमा ल्याएपनि ठूलो कुरा हुने बताउँदै थापामगरले आफ्नो मातृभाषाबाट वञ्चित मगरहरूलाई कक्षा सञ्चालनबाट ठूलो राहत पुग्ने बताए ।

आदिवासी जनजाति समन्वय समिति, मादी गाउँपालिका–६ र ७ सिल्दुजुरेका अध्यक्ष भीमबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षक विवेक थापामगर र समाजसेवी सूर्यबहादुर आलेमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

मादी गाउँपालिका अन्तर्गत पर्ने साबिकको सिल्दुजुरे गाविसको थाक क्षेत्रमा करिब १८ घरधुरी मगर जातिको बसोबास छ । मगर भाषा गुमाएका उनीहरू अहिले पहिलोपटक भाषा कक्षा सञ्चालन गरी मातृभाषा सिक्न कस्सिएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply