Sorry, that menu does not exist.
 

सहकारीको पहिचान बढाउन सदस्य सचेत बनौ : जिसी

बागलुङ, २०७४ माघ ५ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारीहरुको पहिचानलाई प्रभावकारी बनाउनका लागि शेयर सदस्यहरुको भूमिका बढाउनु पर्नेमा जोड दिएका छन् । प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यहरुका लागि आयोजना गरेको एक दिने सहकारी शिक्षा कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बताएका हुन् ।

शेयर सदस्यहरु धेरै संस्थामा आवद्ध हुने भएकाले कारोबार पनि बाँडिएको भन्दै जिसीले एउटा विषयको एउटा मात्रै सहकारीलाई रोजेर त्यही सहकारीको पहिचान बढाउनका लागि सदस्यको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिए ।

सहकारी ऐन २०७४ संगै स्थानीय तहमा समेत सहकारी ऐन पारित भएको र उक्त ऐनले सहकारीका सदस्यहरुलाई एउटा विषयको एउटा सहकारी रोज्न स्पष्ट निर्देशन दिएको उनको भनाइ थियो ।

सहकारी ऐन र सहकारी सदस्य तथा सञ्चालकहरुको भूमिका लगायतका विषयमा जानकारी गराउदै जिसीले प्रगति बहुउदेश्यीय सहकारी संस्थाले छोटो समयमा आफ्ना सदस्यहरुलाई राम्रो प्रतिफल दिनुका साथै समाज रुपान्तरणमा समेत योगदान गरेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल (कुमार)ले संस्थाको समग्र अवस्थाका बारेमा सहजीकरण गरेका थिए ।

२०६४ साल जेठ ८ गते ३२ जना शेयर सदस्यको ३ लाख २० हजार रुपैया शेयर रकम संकलन गरेर स्थापना भएको संस्थामा हाल ५ सय ५० जना शेयर सदस्य, ४ करोड ५४ लाख शेयर रकम, २३ करोड वचत र १८ करोड लगानी गरेको अध्यक्ष पौडेलले जानकारी दिए।

संस्थाले युवा स्वरोजगारकोषबाट कर्जा लिएर युवा उद्यमीहरुलाई सस्तो व्याजमा उद्यशिलता कर्जा लगानी गरेको जानकारी गराउदै उनले आगामी दिनमा बहुउद्देश्यीय काममा समेत ध्यान दिने बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष तोयानाथ गौतमको स्वागत र सचिव उदयचन्द्र चपाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारी ऐनका बारेमा सदस्यलाई जानकारी दिई सबल र सक्षम सहकारी निर्माण गर्ने उदेश्यका साथ सञ्चालित तालिममा संस्थाका ८० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply