सुमन सुनार, २०७४ माघ ५। निसीखोला गाँउपालिका–४ झिम्पामा आज देखि ४ नम्वर प्रदेश स्तरिय सि.एच आई.टि.एफ तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारा सहित झिम्पा सि. एच. आई. टि. एफ तेक्वान्दो दोजाङको आयोजना तथा सि.एच. आई. टि. एफ तेक्वान्दो जिल्ला समिति बाग्लुङको सह–आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको आज उद्घाटन गरिएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै निसीखोला गाँउपालिका वडा नं. ४ का वडा अध्यक्ष टिकानिधि पौडेलले खेल क्षेत्र स्वास्थ्य, शिक्षा र देशको गौरवसँग जोडिने भएकाले यसको उचित विकासबाट मात्र देश समृद्धीको दिशातर्फ उन्मुख हुने धारणा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले खेल क्षेत्रको प्रभावकारी विकाश र विस्तारमा आफुले महत्वपुर्ण भुमिका खेल्ने बताए । यस्तै वडा अध्यक्ष पौडेलले प्रतियोेगितालाई आर्थिक रुपमा सवल बनाउन नगद रु २५ हजार सहयोग समेत गरेका छन् ।
यस्तै कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष कुविर विश्वकर्मा, सि.एच. आई. टि. एफका केन्द्रिय अध्यक्ष दल बहादुर बुढा, नेकपा एमालेका जिल्ला सदस्य रुद्र पौडेल, माओबादी केन्द्र निसीखोला गाँउपालिकाका देव बहादुर पुन र सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जका स्टेशन म्यानेजर राम नारायण सुवेदीले पनि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
त्यस्तै जन जिवराज सुशिला माध्यमिक विद्यालय झिम्पाका प्रधानाध्यापक यमकान्त पौडेल लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थीती रहेको थियो ।
बागलुङ सि.एच. आई. टि. एफ तेक्वान्दो संघका अध्यक्ष सहविन अर्गेजको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा सि.एच. आई. टि. एफ तेक्वान्दो दोजाङ झिम्पाका प्रशिक्षक अनुप बुढा मगरको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन नरेश बुढाले गरेका थिए ।
भोली शनिवार सम्म जारी रहने उक्त प्रतियोगितामा प्रदेश नं. ४ अन्तर्गतका बाग्लुङ, म्याग्दी, गुल्मी, पर्वत लगायत गरि ११ ओटा जिल्लाका खेलाडिहरुले सहभागीता जनाएको आयोजकले जनाएको छ ।