सुमन सुनार, बुर्तिवाङ २०७४ माघ ११ । निसीखोला गाँउपालिका–२ काल्नेचौर स्थित जनहित प्राथमिक विद्यालयले बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ का नवनिर्वाचित सांसदहरुलाई सम्मान गरेको छ । विद्यालयले क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल र क्षेत्र नं. २ ‘ख’ का प्रदेश सभा सदस्य टेक बहादुर घर्ति मगरलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
नवनिर्वाचित सांसदहरुलाई विद्यालयले पञ्चेबाजा सहित फुलमाला, खादा, अबिर लगाएर भब्य स्वागत तथा सम्मान गरेको थियो ।
सम्मान कार्याक्रममा बोल्दै सांसद देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा जनमुखी नीति निर्माण गर्दै शिक्षाको विकासका निम्ती आफुले विशेष प्राथमिकताका साथ काम गर्ने बताए । फरक प्रसंगमा बोल्दै सांसद पौडेलले जिल्लालाई नमुना जिल्लाको रुपमा विकास गर्न अहोरात्र खट्ने भन्दै जनताको विश्वास र भरोसालाई अझ उचो राख्न प्रयत्नशील रहने बताए ।
उनले निर्वाचनका बेला आफुले जनता समक्ष गरेका बाचा एवम प्रतिबद्धताहरुलाई जसरी पनि पुरा गर्ने बताउँदै ईमान्दारीता पुर्वक जनचाहना अनुसार काम गर्दै जाने र आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उता सांसद टेक बहादुर घर्तीले भने यस क्षेत्रमा शिक्षाको विकासका लागी आफुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । फरक प्रसंगमा बोल्दै उनले निर्वाचनको समयमा दलहरु विभिन्न कित्तामा विभाजन भएपनि अव जनताका आधारभूत आवश्यकताहरु पुरा गर्ने अभियानमा सबै दलहरु एक हुनु पर्ने धारणा राखेका थिए ।
यो क्षेत्रको विकासका लागि आफुले सवै दल, तह र निकायहरुसँग सहकार्य गर्ने पनि स्पष्ट पार्दै सांसद घर्तीले संघीयता कार्यान्वयनको चरणमा रहेकोले जनअपेक्षा अनुसारको योजना र कार्यक्रम नयाँ सरकारले बनाउने बताए ।
यस्तै सम्मान कार्यक्रमकै अवसरमा विद्यालयले सांसदहरु समक्ष २ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । विद्यालय स्थापना भएको २० वर्ष हुदा पनि अस्थायी अनुमतिका आधारमा सञ्चालन हुदै आएको र स्थायी अनुमती प्राप्त गर्नका लागी पहलको माग, विद्यालयको भौतिक संरचना निर्माणका लागी आर्थिक सहयोगको पहल गरिदिन माग गर्दै विद्यालयका प्रधानाध्यापिका निल कुमारी खत्रीले उक्त ज्ञापन पत्र बुझाईन् । ज्ञापन पत्र बुझ्दै सांसदहरुले विद्यालयले राखेका माग पुरा गर्नका निम्ती विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
सम्मान कार्यक्रममा निसीखोला गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष कुबिर विश्वकर्मा, नेकपा माओबादी केन्द्र निसीखोला गाँउपालिकाका अध्यक्ष प्रेम बहादुर घर्ति मगर, नेकपा एमालेका बेग बहादुर खत्री, ददिराम शर्मा, नेपाली कांग्रेसका भबिन्द्र कुँवर, राष्ट्रिय जनमोर्चाका बेग बहादुर खत्री, नेकपा माओबादी केन्द्रका तम बहादुर कुँवर लगायत स्थानिय समाजसेवी, बुद्धिजिविहरुको विशेष उपस्थिति रहेको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईद बहादुर रसाईलीको अध्यक्षता रहेको सम्मान कार्यक्रममा शिक्षक टेक बहादुर खत्रीको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन शिक्षक झम सीर्पालीले गरेका थिए ।
तस्वीर –झम सिर्पाली, निसी ।