गल्कोट, २०७४ माघ १९ । गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले महिलाहरुलाई नेतृत्वदायी भूमिकाको मुलधारमा ल्याउन क्षमता अभिवृद्धी तथा उदघोषण तालिमको भुमिका महत्वपुर्ण हुने बताएका छन् । गल्कोट सामुदायिक प्रहरी सेवा केन्द्र गल्कोट नगरपालिकाको आयोजनामा रोयल गोर्खाज होटल, हटिया बजारमा सञ्चालित पहिलो चरणको ३ दिने क्षमता अभिवृद्धी तथा उदघोषण कला तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नगरप्रमुख गैरेले गल्कोट नगरलाई नमुना नगरको रुपमा विकास गर्ने लक्ष्य अनुरुप गल्कोट नगरपालिकाले यस्ता तालिमहरु सञ्चालन गर्ने कार्य योजना समेत तय गरेको जानकारी दिए ।
त्यस्तै नगर उपप्रमुख रेनुका काउचा मगरले महिलाहरुले तालिममा सिकेका कुरा व्यवहारमा लागु गरि समाजमा नेतृत्वदायी भुमिका खेल्न आग्रह गरिन् । उनले यस्ता तालिम विशेष गरि महिला जनप्रतिनिधी र सामाजिक कार्यमा अग्रसर महिलाहरुलाई आवश्यक रहने भन्दै नगरपालिका यस प्रति सदैव सकरात्मक रहने स्पष्ट पारिन ।
सो अवसरमा गल्कोट नगरलिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदी र सहभागीको तर्फबाट कमला श्रीसले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा गल्कोट नगरपालिकाको सहयोग तथा सहकार्यमा सञ्चालित उक्त क्षमता अभिवृद्धी तथा उदघोषण तालिममा गलकोट नगरपालिका भित्रका वडा नं १, २, ३, ४, ५ र ६ का ३० जना जनप्रतिनिधि महिला सदस्यहरु, विभिन्न संघ संस्थाका अगुवा महिलाहरु गरि ३० जनाको सहभागिता रहेको थियो । तालिममा महिलाको क्षमता अभिवृद्वि, सार्वजनिक उदघोषण लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।
तालिमको गल्कोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का पार्शद थम्मन थापा सन्देश र सामुदायिक रेडियो गल्कोट एफ एम का स्टेशन प्रमुख घनश्याम गौतमले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रम गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसेको अध्यक्षता र तालिम प्रशिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।