महेन्द्र केसी पर्वत २०७३ माघ २५ । पर्वतमा विद्युतचोरीमा संलग्न भएका १६ उपभोक्ता र ११ जना प्राधिकरणका कर्मचारी सहित २७ जना कार्वाहीमा परेका छन् ।
विद्युत प्राधिकरण वितरण केन्द्र पर्वतले विद्युत चोरी नियन्त्रण अभियान अन्तरगत १७ जना उपभोक्तालाई कारवाही गरेको छ भने झण्डै २ लाख जरिवाना असुली समेत गरेको छ । तर कार्बाही परेका उपभोक्ताको नाम भने वितरण केन्द्रले सार्वजनिक गरेको छैन ।
विद्युत चोरी प्रकरणमा विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रका ११ जना कर्मचारी कार्वाहीस्वरुप सरुवा भएका छन् । स्थानीय बासिन्दासमेत रहेका उनीहरु विद्युत चुहावटमा सहभागी भएको तथ्य प्रमाणित भएपछि अन्य जिल्लामा सरुवा गरिएको प्राधिकरण पर्वत वितरण केन्द्र प्रमुख विजयराज रेग्मीले बताए। विद्युत चोरीमा सहभागी कर्मचारीहरु तीनदेखि २० वर्षसम्म यहीं कार्यरत थिए। उनीहरु प्राधिकरण पश्चिमाञ्चलका विभिन्न क्षेत्रीय माताहातका कार्यालयमा सरुवा भएका छन् ।
कार्यालय प्रमुख रेग्मीका अनुसार सरुवा हुनेहरुमा महेन्द्र श्रेष्ठ (इलेक्ट्रिसियन), सावित्री क्षेत्री (हेल्पर), भोला शर्मा, (सहलेखापाल), रामचन्द्र पौडेल, ( सिनियर मिटर रिडर), शम्भु सापकोटा, (मिटर सुपरभाइजर), रेशम श्रेष्ठ (इलेक्ट्रिसियन), दुर्गा शर्मा, (मिटर रिडर), पूर्णचन्द्र भट्टराई, (इलेक्ट्रिसियन), योगराज शर्मा (हेल्पर), दिपक पौडेल (कलर) र टेकबहादुर (हेल्पर) रहेका छन् ।