बागलुङ २९७३ माघ २५ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन तोकिएपछि देशभरका क्याम्पसहरुमा विद्यार्थी संगठनका गतिविधिले तिब्रता पाउन थालेका छन् । लामो समयपछि आगामी फागुन १४ गतेका लागि तोकिएको स्ववियू निर्वाचन आफ्नो संगठनको पक्षमा पार्नका लागि भेला वैठक र अन्तरक्रियाहरु भैरहेको छन ।
विगतको स्ववियू निर्वाचनमा देशभर पहिलो शक्तिका रुपमा स्थापित नेकपा एमालेको भातृ संगठन अखिल नेपालू नि स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले मंगलवार धौलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको सम्मेलन सम्पन्न गरेको छ ।
सम्मेलनमा बोल्दै धौलागिरि बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति तथा एमाले युवा नेता हिराबहादुर केसीले देशको भविष्य कस्तो बनाउने भन्ने कुरा विद्यार्थीलाई कस्तो शिक्षा दिइन्छ, त्यसैमा भर पर्ने बताए । असल र सक्षम विद्यार्थी बनाउन सकेमा मात्रै समृद्ध र सफल देश बनाउन सकिने भएकाले सोही अनुसारको नेतृत्व आवश्यक रहने उनको भनाइ थियो ।
व्यवहारिक र वैज्ञानिक शिक्षाको विकास, राष्ट्रियताको संरक्षण तथा विद्यार्थीका सबै खाले समस्या समाधानका लागि अनेरास्ववियूलाई नेतृत्वमा ल्याउनुपर्नेमा केसीले जोड दिएका थिए ।
कार्यक्रममा एमाले जिल्ला सचिव लालबहादुर थापा, अनेरास्ववियूका केन्द्रीय सदस्य प्रकाश पौडेल, युवा नेता नेत्रबहादुर विष्टले आगामी फागुन १४ गतेको निर्वाचनबाट अनेरास्ववियूलाई देशको पहिलो विद्यार्थी संगठनका रुपमा स्थापित गर्न सबै युवा विद्यार्थीहरु एकजुट भएर लाग्न आव्हान गरेका थिए ।
कार्यक्रम अनेरास्ववियू बागलुङका संयोजक शेखर खड्काको अध्यक्षता, सहसंयोजक दिनेश थापाको स्वागत र सचिव शिव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
भेलाले महेश रेग्मीको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियू धौलागिरि बहुमुखी क्याम्पस प्रारम्भिक कमिटि गठन गरेको छ । प्रारम्भिक कमिटिको उपाध्यक्षमा सदिक्षा भण्डारी, सचिवमा लेखनाथ सापकोटा, सहसचिवमा रोशन कुँवर, कोषाध्यक्षमा मिना श्रीस र महिला विभाग प्रमुखमा सुष्मिता बोहोरा चयन भएको अनेरास्ववियू बागलुङका प्रचार विभाग प्रमुख रोशन जिसीले जानकारी दिए ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अनेरास्ववियूका केन्द्रीय सदस्य प्रकाश पौडेलले सपथ ग्रहण गराउनु भएको थियो ।