थम्मन थापा सन्देश, गल्कोट २०७४ फागुुन १० । युवा तथा खेलकुद विकास समिति गलकोट नगरपालिका- ११ रिघाले बुधवार हटियामा पत्रकार भेटघाट गरेको छ । –
पत्रकार भेटघाट कार्यक्रममा ट्रफी र जर्सी सार्वजनिक पछि प्रमुख अतिथि गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले विश्वमै चर्चित खेल फुटवल भौगोलिक अवस्था र ग्राउण्ड अभावका बिच रिघामा आयोजना हुनु प्रशंसनीय कार्य भएको भन्दै गल्कोटको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए ।
प्रतियोगिताले गलकोट नगरपालिकाको सम्वृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने शर्माको भनाई थियो ।
पत्रकार भेटघाट कार्यक्रममा संस्थाले फागुन १९ गतेदेखि २५ गतेसम्म आयोजना गरेको बृहत फुटवल प्रतियोगिता सॅगै विविध सांस्कृतिक कार्यक्रमको जानकारी दिईएको थियो । प्रतियोगितामा बागलुङ जिल्लाको पश्चिम क्षेत्रकै ठुलो राशी सहित प्रथम पुरस्कार नगद रु १ लाख १ हजार, द्वितिय पुरस्कार रु ५५ हजार ५ सय र सान्तवना रु १० हजार २ टिमलाई प्रदान गरिने आयोजकले जनाएको छ ।
सो अवसरमा कृषि मेला, खुल्ला सामुहिक नृत्य, मगर संस्कृतिमा आधारित धनुष बाण प्रतियोगिता, सालैजो, सोरठी, घाटु नाच, आमा समुहको लोक भाका, ठाडो भाका लगायतका विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रम अवधिभर राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहनेछ । फुटवल प्रतियोगितामा काठमाण्डौ, बुटवल, पोखरा, बागलुङ, तम्घास लगायतका स्थानबाट झण्डै २० समुहको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।
पत्रकार भेटघाटमा मेला अवधिमा ११ लाख १६ हजार ६ सय खर्च र झण्डै ३० लाख बराबरको आर्थिक कारोबार हुने र झण्डै ३० हजार दर्शकले अवलोकन गर्ने समेत जानकारी गराईएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख रेनुका काउचा मगर, वडा नं ११ का वडा अध्यक्ष डम्मर श्रीस र वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रम युवा तथा खेलकुद विकास समिति रिघाका अध्यक्ष दान बहादुर श्रीसको अध्यक्षता र सदस्य सोनाम घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।