Sorry, that menu does not exist.
 

माझी समुदायको ‘कोशीपूजा (लदिपूजा)’

परिचय:
माझी जाति प्रकृतीपुजक भएकाले प्रकृतिको ठूलो भाग पानी वा कोशी, जलदेउता इत्यादिको पूजा गर्दछन् । देवताहरूलाई बोका, पाठी, कुखुरा, परेवा, हाँस, राँगा, सुँगुर, बाख्रा बली दिन्छन् भने जाँड, रक्सी, फुल, अक्षता, पाती, भेटी चढाउँछन् । माझी जातिले मनाउने चाडपर्वहरूमा कोशीपूजा, कुलपूजा, माघे सडक्रान्ति, साउने सग्राती, मंसिरे पूर्णिमा, बैसाखे पूर्णिमा लगायत दर्शै, तिहार र अन्य विभिन्न हिन्दु संस्कारका चाडपर्वहरू पनि हाल मनाउन थालेका छन् । यसरी विभिन्न देवी देवताको पूजा–आजा गर्दा कसै–कसैले बत्ती बाल्ने, नाचगान गरेर रातभर जागराम बस्नेगर्दछन् । रातभरी बालेको बत्ती बिहान खोला वा कोशीमा लगेर सेलाउँछन् । कसै कसैले छोरा भएनन् भने छोरा होस भन्नका लागि पनि यस प्रकारको भाकल पूजा गर्दछन् । यो चलन भरखर भरखर हिन्दु संस्कारबाट माझीहरुले सिकेकाहुन् ।

माझी जाति प्रकृतिपुजक भएकोले प्रकृतिको महत्वपुर्ण अंग कोशीको वा पानीकोपूजा गरेकाहुन् । यसलाई जखनिपुजा, लदिपुजा, कोशीपूजा, घाटपुजा र अन्य विभिन्न नामले पनि पुजा गर्दछन् । माझी जातिको महत्वपुर्ण चाड कोशीपूजा हो । यसलाई नेपाली भागाामा कोशीपूजा र माझी भाषामा लदिपुजा भनिन्छ । यो पूजा फागुन, बैशाख, जेष्ठ, असार र माघ महिनामा गर्दछन् । धेरैजसोले फागुन महिनामा मंगलबार र शनीबार पारेर गर्दछन् । यो पूजामा सप्तकोशीका सहायक नदी इन्द्रावती, सुनकोशी, तामाकोशी, दुधकोशी, लिखु र तमर समेत सात वटा कोशीको नाम लिएर पूजा गर्दछन् । यी सात वटा कोशीको मात्र यो पूजा भने होइन । पृथिवीमा एकभाग जमीन तिनभाग पानी भएकोलेयो सम्पूर्ण पानीको पूजा हो । कोशी बाहेक विभिन्न देवी–देवता, कुल, पितृको पनि पूजा गर्दछन् । यो पूजामा छोरी, चेली, ज्वाइँ चेला, भान्जा, भान्जी, नाता, कुटुम्बहरूलाई पनि निम्ता गर्दछन् । माझी बाहेक अन्य जातिलाई यो पूजामा पहिले पहिले समावेस गराउदैनथे, अहिले गराउन थालेकाछन् । विशेस चोखोनिधो र निष्ठापुर्वक शनिवार र मङ्गलबार पारेर सामुहिक रुपले यो पुजा गर्दछन् । हाल देशब्यापिरुपमा फागुन महिनाको तेश्रो मंगलबार मात्र गर्ने गरेकाछन् ।

महत्व :
कुनैपनि प्राणी पानी विना नबाँच्ने भएकोले प्राणीहरुको प्राणरक्षाको लागि माझीहरुले यो पूजा गरेकाहुन् ।माझी जातिको जिवनबृत्ति वा बाच्ने आधार नै कोशी र खोलामा आधारित भएकोले यो पूजा गरेका हुन् । माझीहरुले बर्षा, बाढी, भेलमा डुंगा चलाउनु पर्दा डुङ्गा पल्टीने डर हुनेभएकोले कुनै खतरा नहोस भनेर यो पूजा गरेकाहुन् । माझी समुदायमा यो पूजा गर्दा भुत प्रेतको डर त्रास हुदैन भन्ने मान्यता छ । कुनैपनि समयमा माछा मार्नु, रात दिन खोला कोसीमा हिड्नु पर्दा सुरक्ष्या हुन्छ भनेर पनि यो पूजा गरिएको हो । यो पूजा गर्दा उब्जाबाली राम्रो हुन्छ, समय समयमा पानीपर्छ भन्ने माझी समुदायले विस्वास गर्दछन् । जग्गा जमीन खोला कोसीले नबगाओस भनेर पनि यो पूजा गरेकाहुन् । माझी जातिको यो महान चाड भएकोले जातीय पहिचान स्थापीत गराउनुको लागि र कोशीपुजालाई राष्ट्रिय पर्वमा सूचिकृत गराउनुको लागि पनि यो पूजा गर्नेगरेकाहुन् । माझी समुदायले यो चाडलाई ज्यादै महत्वपूर्णकासाथ मान्दछन् । गाउँघर परिवारमा कुनै झैझगडा, रीस इवी, मनमुटाव भै बोलीचाली बन्द भएकाहरू पनि एक आपसमा बोल्ने, रीसइबी नगर्ने भएकाले यो पूजालाई माझी समुदायले मेलमिलापको पर्वको रूपमा समेत मान्दछन् ।

पूर्व तयारी :
कोशीपूजा गर्ने समय भएपछि गाउँका मानिसहरु भेलाभएर कोशीपूजा गर्ने दिन निधो गर्छन् । पूजा गर्ने एक महिना पहिले देवताको नाममा प्रत्येक घरबाट एकमाना चामल उठाउँछन् । प्रत्येक घरका सम्पुर्ण पुरूष र महिला एकजनाको मात्र उठाउँदछन । परिवारका भात खुवाइसकेका सम्पुर्ण पुरूष बच्चादेखि बुढा, परदेश गएकाछन् भने उसको भाग र कुनै निम्तारू छन भने पाहुनाहरुको लागि समेत जाँड, भात, रोटीको लागि चामल र अन्य पूजा सामग्रीका लागि आवश्यक गर्ने नगद पनि उठाउदछन । उठाएको चामल नुहाई धुवाई, घर लिपपोत गरी, चोखो मुखले देवताको नाममा जाँड पकाउदछन । जाँडको लागि पकाएको भातमा मर्चा नमोलुन्जेलसम्म जाँड पकाउनेले पानी समेत पनि खानुहुँदैन भन्ने माझी समुदायले मान्यता राख्दछन् । देवताको नाममा पकाएको जाँड कहिल्यै पनि नमिठो हुँदैन । यो जाँड नमिठो भयो भने देवता रिसाएछन्, अनिष्ठ हुन्छ भन्ने माझी समुदायले विस्वास गर्दछन् ।

पूजा विधि :
* पूजाको पहिलो दिन
पूजाको अघिल्लो दिन पुजारीले नुहाइ–धुवाई चोखोनिधो गरी घाम छँदै एक छाक खाएर चोखो निष्ठाका साथ बस्नुपर्छ । बेलुका धामीहरू चिन्ता बस्छन र त्यहाँ बसेका बुढापाकाले ‘भोली कोशी पुजा गर्दैछौं, कुनै अनिष्ठ नहोस’ भनेर बल माग्छन । पुजाको दिन विहान माझी बाहेक अन्य जात जातिले समेत पूजाको लागि अक्षता, भेटी, कुख्रा र अन्य पूजा सामाग्रीहरू पूजारीको घरमा ल्याइदिन्छन् । कसै कसैले पठाइदिन्छन् । माझीहरुले विहान कुल, पित्री, कोशी, विभिन्न देवीदेवतालाई निम पुजा गर्दछन् । विवाह भाग, छोरो जन्मेको हर्षको भाग इत्यादि नामले भाकल पुराहोस भनेर बोका, पाठी, कुखुरा बलि चढाउँदछन ।

आ–आप्mनो घरमा विहानको खाना खाइसकेपछि माना चामल उठाएको संख्याको आधारमा प्रत्येक व्यक्ति एउटा कुखुरा, एउटा कुखुराको फुल, भेटी अक्षतासहित विभिन्न पूजा सामाग्री पुजारीको घरमा सबैजनाले लिएरजान्छन् । सबैले ल्याएको पुजा सामाग्री एकैठाउँमा जम्मा पारी पुजारी पुजास्थानमा जान्छन् । पुजारी पुजास्थानमा पुगेपछि गाउँमा माझी बाहेक अन्य जात जातिका मानीसहरु आएका छन् भने उनीहरुलाई पूजा शुरूभएकोले सबैलाई गाउँछाडेर जाने बन्दुक पड्काएर सूचना गर्दछन् । सूचना पाउनासाथै अन्य जातिका मानिसहरु आ–आफनो गन्तव्य स्थानतिर जान्छन् । पूजाको दिन माझी समुदाय र माझी गाउँको आसपासका फाँटको जग्गा जमिनमा अन्य जातिले समेत खेती लगायत सम्पुर्ण काम बन्द गर्छन् । ढिकी, जाँता,े डुंगा चलाउन समेत दुइ दिन बन्द गर्दछन् । खानेकुरा बनाउने, तुल्याउने, खाने, नाचगान, रमाइलो गर्ने बाहेक अन्य सम्पुर्ण काम बन्द गर्छन् । गाउँमा गाइ, भैंसी जेजति दुहुना छन् तीनको विहानको दुध बेच्नु, खानु वा ठेकीमा हाल्नु हुँदैन, देवता रिसाउँछन्, पाप लाग्छ, अनिष्ठ हुन्छ भन्ने माझी समुदायले मान्यता राख्दछन् । सबै दुधबाट प्रसादको लागि खीर बनाउँदछन ।

पूजा स्थान गोेबरले लिपपोत गरेर मूल स्थानमा ७ वटा अन्य स्थानमा एउटा देवता स्थापना गर्दछन् । चामलको पीठोको रेखी हाल्दछन्, टोटलाको फुलको माला टाँग्दछन्, भूँइमा टोटलाको फुल र बेलपाती ओछ्याएर त्यसमाथि अक्षता भेटी सुपारी राख्दछन् । पुजारीले हात जोडेर “लौ परमेस्वरी तिम्रो मेडो(बली दिन तयार पारेको जनावर वा पञ्क्षी)चोखोछ । आङ लिएर सिर लिइदेउ । देसान, मसान, रोग, व्याधि, भूतपे्रत, हटाइदेउ । अन्न पानीको सह गरीदेउ । बेला बेलामा पानी पारिदेउ । भिरपहरा र वन जंगलको तस्करबाट बस्तुभाउ जोगाइदेउ । शत्रुको कुरा मुनी हाम्रो कुरा माथि पारिदेउ” इत्यादि भनेर पुजारी लगायत बुढापाकाहरू बरबराउँछन् वा कोशीस“ग बल माग्दछन् । कुखुरा पाठी मनाउने वा पर्छाउने काम सकेपछि धुप बत्ती बालेर सहायक पुजारीहरूको सहयोगमा पुजारीले बली दिन शुरू गर्दछन् ।

बलि दिने काम सकेपछि कुखुरा, पाठी र जे बलि चढाएको छ त्यसको कलेजो निकालेर आगोमा पोल्दछन् । अण्डा पकाउछन् । प्रसादकोरुपमा तयार पारेको खाद्य पदार्थ रोटी, खीर, पोलेको कलेजो, अण्डा, चोखो जाँड देवतालाई चढाउँछन् । पुजारीहरुले धुप बत्ती बाल्दछन् । प्रसादको रूपमा बाबर, खीर, पोलेको कलेजो, अण्डा, चोखो जाँड इत्यादि चुल्हो, अग्नी, पितृलाई भान्सेहरुले चढाउँदछन् । भूत, प्रेत, देसान, मसानलाई चारै दिशा छरेर चढाउँछन् । त्यसपछि पुजारीहरूलाई र अन्य उपस्थित सम्पुर्णलाई प्रसाद वितरण गर्दछन् । प्रसाद खाइसकेपछीबलि दिएको टाउको उठाउँछन् । यो कामलाई सिरउठाउने भन्दछन् । त्यसदिन महिलाहरूलाई पकाइ बनाई तुल्याइ खुवाउने भान्से पुरूषनै हुन्छन् । यी भान्सेहरू पनि प्रसाद खाने समयमा महिलाहरूलाइ खुवाउने काम सकेर आइसक्नुपर्छ । माना चामल नउठाएका अरू थप पाहुनाहरू पनि थपिनसक्छन् । थपिएका सबै पाहुनाहरुलाई प्रसाद लगायत सम्पुर्ण खाद्य सामानहरू समान रूपले वितरण गर्दछन् । १२–१ बजे रातीसम्म खानपिन, नाचगान गर्दछन् ।

खान पिन गरीसकेपछी खाइनसकेर बाँकिरहेका सामान बोकेर सबैजना देवतासँग विदा माग्न देवताको थानमा जान्छन् । विदा माग्दा सबैले हातजोडेर “लौ पर्मेस्वरी, तिमीले खायौ भोग, हामीले खायौं भोज, तिम्रो सक्के गरेनौ, हाम्रो सक्के ग¥यौं । अक्षता, पाती, धुप, बत्ती, घटी, बढी भए माफी पाउँ” इत्यादि.भनेर देवतासँग विदा माग्दछन् । अन्न पानी सस्तो होस । सहकाल आओस । एक माना तोरीको दुइ माना तेल होस जस्ता शब्द ठुलो–ठुलो स्वरले भन्दै हल्ला गर्दै होल्लरे…भन्दै सबै जना घरमा पुग्छन् । घरमा महिलाहरू कोही पुरूष कोही महिलाको भेषमा नाचगान रमाइलो गरी बसेका हुन्छन् । पुरूषहरू घरमा पुगेपछि पुजारीलाई पुजारीकी श्रीमतीले बिवाहको विधी अनुसार गोडा धोइ, बेहुली भित्रयाएको जस्तो गरेर भित्रयाउँछन् । पुजारीलगायत त्यहाँ भएका सबैलाई सगुनको रूपमा जाँड र मासु खानदिन्छन् । रउसे युवा–युवतीहरू नाचगान गरेर रात बिताउँछन् ।

* पुजाको दोश्रो दिन :
बिहान सबेरै पुजारीको घरमा गाउँका महिला, पुष, पाहुना सबै भेला हुन्छन् । निम्तो नगरेका ज्वाइँ, सम्धीसमेत त्यो पूजामा जानु हुदैन । महिलाको समुहमा पुरुष, पुरुषको समुहमा महिला आउनु जानु हुदैन । माझी भाषा बाहेक अन्य भाषा बोल्नु हुदैन । पूजा अवधिभर गाउँ छाडेर बाहिर कतै जानु हुँदैन । ढिकी–जाँतो, डुंगा चलाउनु र माछा मार्नु समेत जानुहुदैन । यी बन्देज लगाएका कुनै काम गरेमा जरिवाना तिर्नु पर्दछ । जरिवानामा एउटा कुख्राको भाले त्यसलाई आवश्यक तेल मसला र एक घ्याम्पा जाँड तिर्नुपर्छ । माथि उल्लेखित गल्तीहरु जसले गर्छ उसले र जसको घरमा अपरझट् पाहुना आएका छन त्यस घरको मुलीले यो जरिवाना तिर्नुपर्छ । यो जरिवाना तिर्दा त्यहाँ भेला भएका सबैलाई हात जोडेर “मेरो घरमा अकास्मात पाहुना आएकोले र अन्य गर्नु नहुने जसले जे गरेको छ, यो गर्न जानिन म माफी पाउँ” भनेर माफी माग्नुपर्छ । सबैले माफ पाइस भन्छन् वा माफी दिन्छन् । यसरी जरिवाना स्वरूप जम्मा भएका कुखुराको मासु र जाँड त्याहाँ उपस्थित भएका सबैले खान्छन् । युवा–युवतीहरू महिलाले पुरूषको, पुरूषले महिलाको भेषमा घरैपिच्छे नाचगान गर्छन् । यसमा अनिवार्यरुपले ठोकने र ख्याली नाच प्रस्तुत गर्दछन् । नाचेको घरमा घरधनीले आप्mनो गच्छे अनुसार तिहारमा द्यौसेलाइ दिएको जस्तो गरेर दान दक्षिना दिन्छन । यसरी जम्मा भएको पैसाले पहिले पहिले भोज खान्थे अहिले कुनै सामाजिक काम गर्न थालेकाछन् ।

दोश्रो दिनलाई मुलबाधा को दिन पनि भनिन्छ । मुल बाधा नफुकाइ कतैपनि जानु नहुने भएकोले बेलुका बाधा फुकाउँदछन् । बाधा फुकाउँदा पुजारी, गाउँका बुढापाका, घरमूली, पाहुना सबै भेला हुन्छन् । भेला भएका सबैलाई सगुनको रूपमा जाड दिन्छन् । पुजारी वा मिझारले गौरूङलाई बाधा फुकाउन अह्राउँछ । गौरूङले धनुकाँड बनाउछ । ओखलीलाई ठड्याएर राख्छ । ठड्याएको ओखलीलाई धनुकाँडले हान्छ । छेलो हान्ने गोलो ढुङ्गाले छेलो हानेर ओख्ली ढाल्छ । उपस्थित बुढापाकालाई साइनो अनुसार ढोग्छ । त्यसपछि सबै गाउँलेले सुन्ने गरी “मैले मूल बाधा फुकाएँ आसिक सेवा सबैले बाँडी–बाँडी लिनु” भन्छ । बाधा फुकाएपछि अत्यन्त जरुरी काम भएकाहरु बाहिर जान पाउँछन् जरिवाना लाग्दैन ।

* पूजाको तेश्रो दिन :
तेश्रो दिन मझेसाबा गठन गर्छन् । बर्षभरि फैसला गर्न नसकेका मुद्दा फैसला गर्छन् । झैझगडाको मिलापत्र गराउँछन् । विहान बाधा फुकाउँछन् । बाधा फुकाइसकेपछि युवकहरू बल दाँज्ने हिसाबले छेलो हान्ने, बराह तान्ने खेल खेल्छन् । छेलो (ठुलो लोहोरो ढुंगो) सबैभन्दा टाढा जसले फयाक्न सक्छ त्यस वर्षको बलवान उही हुन्छ । उसलाई बुढापाकाले स्याबासी दिन्छन् । कुनैकुनै गाउमा फेटा बाधीदिएर सम्मान गर्ने चलन पनि छ । उठाएको माना चामलको जाँड खाएर बाँकी रहेको पूजामा उपस्थित नभएका र बच्चाहरूको भाग सबैलाइ बाँड्छन् । सबै विधि सकिएपछि भान्सेहरूलाई सगुन खुवाएर बिदा गर्दछन् ।

भान्से बिदा गर्ने :
भान्से विदा गर्दा पुजारी र गाउका बुढापाका बसेर भान्सेहरूलाई जॉड र मासु सगुन दिन्छन् । सगुन खाइसकेपछि बुढापाकाले यसो भन्दछन् ।
“हामीले कोशी वा पानीकोपुजा ग-यौं । पूजाको प्रसाद त्यसै खानुभएन । कसैले पकाउनुप-यो, कसैले बनाउनुप¥यो, कसैले तुल्याउनुप-यो, कसैले भागबण्डा गर्नुप¥यो, कसैले अर्तिगर्नुप-यो । तिमीहरु कसैले डाडु, कसैले पन्यु, कसैले छपनी चलायौ । कसैले पकायौ, कसैले अर्तिग¥यौ । खानेले पनि खाए, नखानेले पनि खाए । पाउनेले पनि पाए, नपाउनेले पनि पाए । पुग्नेलाई पनि पुग्यो, नपुग्नेलाई पनि पुग्यो । सबैलाई पुग्यो, भरिपुर्ण पा¥यौ । आजदेखि डाडु चलाउनेको डाडु, पन्यु चलाउनेको पन्यु, छपनी चलाउनेको छपनी, अर्तिगर्नेको अर्तिगर्नेकाम, जसले जे चलाएको थियो, जसले जे काम गरेकोथियो त्यो आजदेखि सबै छुट्यो । यस्तो काम तिमीहरूले सँधैभरी गरीरहनु परोस्”भन्छन् । भान्सेहरूले बुढापाकाहरुलाई साइनो अनुसार ढोग्दछन् । बुढापाकाले “जे मनले चितायो सोही पुगोस्” भन्ने आशिष दिन्छन् । यो विधी गरेपछि कोशीपूजा पुर्ण भएको मान्दछन् ।

श्रोत: नेपाल माझी उत्थान संघ रामेछाप ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply